बागमती प्रदेश सरकार सक्रिय बन्दै, आइसोलेसन केन्द्र संचालन हुने



काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहितको टोलीले घट्टेकुलोस्थित नेसनल मेडिकल अस्पतालको निरिक्षण गरेको छ ।

अस्पताललाई बागमती प्रदेश सरकारले आइसोलेसन निर्माण गर्ने तयारी गरेपछि निरीक्षण गरिएको हो ।

मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा ३ हजार आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको थियो ।

सो छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनोट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद अध्यक्ष कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा.खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो ।

उपत्यकामा तत्काल ५ सय बेडको आइसोलेसन केन्द्र संचालनका लागि घट्टेकुलो स्थित काठमाडौं नेसनल मेडिकल अस्पताल केहि दिन भित्रमा नै संचालन गर्ने तयारी रहेको छ । बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भएपनि काठमाडौंमा कठिनाइ देखिएसंगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारहरुसँगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र छनोट गरि संचालन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाकामा भक्तपुर जिल्लामा बागमती प्रदेश सरकारको भक्तपुर अस्पताल अन्तर्गत खरी पाटिमा आइसोलेसन केन्द्र रहे पनि काठमाडौं र ललितपुर जिल्लाका कुनै पनि स्थानमा आइसोलेसन केन्द्र नरहेको अवस्थामा प्रदेश सरकारले सम्भावित स्थानको छनोट गरि आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ ।

काठमाडौंमा कोरोना संक्रमितहरुलाई एकीकृत रुपमा व्यवस्थापनका लागि भाद्र १२ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरिएको थियो । आवस्यकता परेको अवस्थामा काठमाडौंमा करिव ८ हजार आइसोलेसन बेड उपलव्ध गराउने गरि तयारी गरेको सांसदहरुको टोलीले अवश्यक नीतिगत तथा प्राविधिक तयारीका लागि मुख्यमन्त्री पौडेलसँग आाग्रह गरेको थियो ।

त्यो संगै काठमाडौं जिल्लाका प्रदेस सभा सदस्यहरुसँग कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि गर्न सकिने कार्यहरुकाबारेमा छलफल गरेका मुख्यमन्त्रि पौडेलले भूमिका माग्न भन्दा पनि खोज्न आग्रह गर्दै काठमाडौंमा प्रदेश सरकारको पहलमा आइसोलेसन केन्द्रलाई संचालन गर्ने अन्तिम तयारीमा पुगेको जानकारी गराए ।

प्रकाशितः १३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्