गण्डकीको प्रवेशद्वारमा अस्थायी प्रहरी पोष्ट



तनहुँ : गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले निरीक्षण गरेका छन् ।

निरीक्षणपश्चात् मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताए । कोरोना भाइरसको सङ्क्रमणलाई थप फैलिन नदिन सीमा नाकामा हुनुपर्ने जाँचलगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न प्रहरी पोष्टले सहयोग पुग्ने मन्त्री चुमानले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले सो प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्