लिबियामा समावेशी राजनीतिक प्रक्रिया आवश्यक : राष्ट्रसंघ



त्रिपोली : लिबियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।

संयुक्त राष्ट्र संघीय निकायले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्यो, “लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण र समावेशी राजनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकतालाई जोड दिएको छ । मर्यादा र शान्तिका लागि लिबियावासीहरूको आकांक्षालाई उनीहरूको प्रतिनिधित्व गर्ने सरकारले पूरा गर्न जरुरी छ ।”

राष्ट्रसंघीय उक्त निकायले लिवियाली नागरिकलाई शान्त रहन, कानुनी शासनको पालना गर्न र अधिकार संरक्षणको लागि शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्न आग्रह गरेको छ । राष्ट्रसंघीय नियोगले लिवियाभरि मनोमानीरूपमा गिरफ्तार, नजरबन्द, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको र शान्तिमय सभा र विरोधको अधिकारसहित मानव अधिकार उल्लङ्घनको रिपोर्टमा वृद्धि भएको दावी गरेको छ ।

संयुक्त राष्ट्र संघले प्रदर्शनकारीविरूद्ध राजधानी त्रिपोलीमा अत्यधिक बलको प्रयोगको साथसाथै धेरै नागरिकलाई मनोमानीरूपमा गिरफ्तार गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

मिसनले त्रिपोलीदेखि ४५० किलोमिटर पूर्वमा अवस्थित सिर्ते सहरमा चलिरहेको मानवअधिकार उल्लङ्घन र दुब्र्यवहारका रिपोर्टप्रति पनि चिन्ता व्यक्त गरेको छ । सिर्तेमा नागरिकको अपहरणपछि हत्या र धेरैलाई मनोमानी गिरफ्तार, र निजी सम्पत्तीमा अवैध रुपमा हस्तक्षेप भएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ । सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन भएदेखि नै लिवियामा हिंसा र राजनीतिक अस्थिरता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्