भदौ १६ देखि हुने अन्तर्राष्ट्रिय उडानको यस्तो छ तयारी



काठमाडौं : अवस्था सामान्य हुन्थ्यो भने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ ।

कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन् । गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म निषेधाज्ञा थपिएको छ । राजधानी काठमाडौँसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेज्ञाज्ञा जारी गरेको हो । यस बीचमा विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान हुने भए पनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तर्राष्ट्रिय उडानको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । त्यसो त, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।

सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्ने गरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिए । विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्