व्यापारीको समस्या समाधान गर्न चेम्बरको माग



जनकपुरधाम : उद्योगी व्यापारीहरुको समस्या समाधानको विषयमा ध्यानाकर्षण गराउन धनुषा चेम्वर अफ कर्मसले तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

व्यापारीको हकहितका लागि विभिन्न ७ बुँदे माग राख्दै धनुषा चेम्बर अफ कर्मसले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तहहरुलाई ज्ञापनपत्र बुझाइएको कर्मसका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले बताए ।

ज्ञापनपत्रमा तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धारासायी बनाउने काम गरिरहेको भन्दै कमर्सले यी समस्याहरुको समाधान तत्कालै निकाल्न माग गरेको छ ।

धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले व्यापारीहरू सरकारी ट्याक्स, बैंक ब्याज, पसल भाड़ा, आर्थिक खर्चको मार खेपिरहेको समयमा पनि सरकारले व्यापारीहरूलाई नै लकडाउनको नाममा धारासायी बनाउने काम गरेको आरोप लगाए ।

दुई चरण गरी १ सय २० दिनको लामो लकडाउनको मार, बैंकको ब्याज, सरकारी कर, पसल भाड़ा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी व्यापारीहरु सरकारलाई आफ्नो व्यथा सुनाउन र त्यसको निराकरणका लागि आज कमर्सको अगुवाईमा तिनवटै तहको सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

उनीहरुले सार्वजनिक पद धारण गरेका सरकारका मुखियादेखि स्थानिय तहसम्मका जनप्रतिनिधिहरूले आफ्नो तलव भत्ता र सेवा सुविधा यस विकट घड़ीमा जनताको पीड़ मार्का निवारण गर्नतर्फ लगाउनुपर्ने, व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै पसल भाड़ा, बैंकको ब्याज एवं सरकारी करमा राहत दिनुपर्ने, आम्दानी बन्द भएर आर्थिक मारमा परेका व्यवसायीहरुलाई लकडाउन अवधि भरका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनुपर्ने, आइसोलेसन, क्वारेन्टाइन एवं कोभिड अस्पतालको यथाशीघ्र उचित ब्यवस्थापन हुनुपर्ने र सीमावर्ती क्षेत्र पूर्ण रुपमा सील गर्नुपर्नेलगायतका मागहरु राखेका छन् ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्