प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ४ वर्षीया बालिकासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

मृत्यु हुनेमा महोत्तरीका एक बालिका र एक महिला तथा रौतहट र पर्साका एक÷एक जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका–१ की ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको हो । साउन २३ गते नै रिपोर्ट पोजेटिभ आएको बालिकाको आइतवार मृत्यु भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए । त्यस्तै महोत्तरीकै जलेश्वर नगरपालिका– २ का ६२ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उता रौतहटको यमुनामाई गाउँपालिका वडा नं। ३ का ४० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका ८० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ७४ पुरुष गरि ९० जनाको मृत्यु भईसकेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३४, बारामा १३, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ७, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्