भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन



नयाँदिल्ली : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आरआर अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न ८४ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।

मुखर्जीका छोरा अभिजितले ट्वीटरमार्फत निधनको खबर सार्वजनिक गरेका छन् । पूर्वराष्ट्रपति मुखर्जीको लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मुखर्जीको सैनिक अस्पतालमा गत साउनमा मस्तिष्कको एक साइडको इमर्जेन्सी अपरेशन गरिएको थियो । अपरेशनपछि उनको अवस्था चिन्ताजक बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।उनलाई गत साउन २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति भएका मुखर्जी वृत मन्त्रीसमेत भएका थिए ।

राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले सोमबार साँझ ट्वीट गर्दै भनेकी छन्–‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुस्खद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्