मृतकका नाममा सामाजिक सुरक्षा भत्ता निकासा ?



दार्चुला : लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ ।

जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्याङ्क वडा कार्यालयसँग छ । मृतकका नाममा साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयवासीले कानुनी कारवाही हुनुपर्ने मागसहित वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी भुवन जोशीले जानकारी दिए ।

पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापत रु २४ हजार खाएको आरोप प्राविधिक बोहरामाथि लागेको छ । तेस्रो चौमासिकको रकम वितरणको बेला वडा कार्यालयले सूचना जारी गरेको थियो । मृतक जोशी परिवारले सामाजिक सुरक्षा भत्ता लिन आएका थिएनन् । मृतक परिवारले आफूहरुले मरेको मान्छेको रकम नलिने भनेपछि यसअघि सो रकमको बारेमा चासो बढेको थियो ।

ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सार्वजनिक सूचना गर्दा मृतक जोशीको नाममा सामाजिक सुरक्षा भत्ता निकासी भइरहेको देखिएको हो, वडाध्यक्ष दीपेन्द्र बोहराले भने । “तेस्रो चौमासिकमा मान्छे सम्पर्कमा नआएपछि कोलेनिकाबाट रकम फिर्ता गर्न लगाए । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको लगत काट्न विर्षिदा रकम हिनामिना भएको देखिन्छ”, वडाध्यक्ष बोहराले भने । कर्मचारी र वडाध्यक्षले स्थानीयवासीसँग माफी मागे पनि कानुनी कारबाही गरिनुपर्ने, भ्रष्टाचारसम्बन्धी मुद्दा लगाइनुपर्ने भन्दै उनीहरुले तालाबन्दी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्