विद्यार्थी र शिक्षकलाई ५ सयमा ३५ जीबी डाटा



काठमाडौंः नेपाल टेलिकमले कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको हो । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यार्थी तथा शिक्षकका लागि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता गरिएको छ ।

यो प्याकेजका प्रयोगकर्ताहरुले ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने भएको छ ।

यसै गरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने भएको छ ।

दुवै प्याकेजको समयावधि २८ दिनको हुने बताइएको छ । सम्झौता अनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोधसहितको जानकारी पठाउने छ ।

जानकारी प्राप्त भएपछि विद्यालयहरुले प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नं.को सूची इमेलमार्फत पठाउनु पर्नेछ । विद्यार्थीहरुले कलेजको सहायता विना आफै नेपाल टेलिकमको वेबसाइटमा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि दर्ता गर्न सक्ने छन् ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्