पहिरोले पानीको मुहान पुरिँदा समस्या



झापा : गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ ।

बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन विष्टले बताए । “विकट ठाउँमा मुहान छ, जेसीबी जाने बाटो छैन”, उनले भने, “मजदूर लगाएर पहिरो हटाउने काम गरिरहेका छौँ । थप पानी परेन भने तीन चार दिनभित्रमा सकिन्छ होला । अनि मात्र पानी वितरण नियमित गर्न सकिन्छ ।”

पहाडको फेदीबाट निस्किएको जरुवा पानी जापान सरकारको आर्थिक सहयोगमा १३ वर्ष अघिदेखि ल्याएर धुलाबारी खानेपानी उपभोक्ता समितिले मेचीनगर ९, १० र ११ नम्बर वडाका चार हजार ७०० बढी उपभोक्तालाई वितरण गर्दै आएको थियो । समितिका उपाध्यक्ष विष्टले सो जरुवा पानीसँगै डिप बोरिङबाट खानेपानीको कार्यालय र मागुरमाडीबाट पानी निकाल्दै आए पनि त्यसले आधा उपभोक्तालाई पनि नधान्ने जानकारी दिए । उनले तत्काल विकल्प नखोजे धुलाबारीमा पानीको हाहाकार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्