सप्तरीमा भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा



जनकपुरधामः कोरोना संक्रमितको संख्या निरन्तर बढदै गईरहेकोले सप्तरी जिल्लामा निषेधाज्ञाको समयअवधि पुनः थपिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले निषेधाज्ञामा थप कडाई गरिएको बताए ।

प्रजिअ आचार्यले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु चौथो पटक भदौ २३ गतेसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाभरी नगर्न÷नगराउन निषेधाज्ञा जारी गरिएको जानकारी दिए । यस अवधिमा अत्यावश्यक सामग्रीका पसलहरु बिहान १० बजेसम्म सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक साउन ८ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेस्रो चरणमा भदौ २ देखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।

प्रशासनले सप्तरी जिल्लामा संक्रमितको संख्या ७ सय ९० रहेको र जिल्लाको बिभिन्न स्थानहरुमा संक्रमितको संख्या बढिरहेको देखिएको हुँदा राजनैतिक दल, नागरिक समाज लगायतको जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकबाट भएको सिफारिसको आधारमा राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तीन वटै पालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रकाशितः १६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्