मृतक विजय महराको घट्नामा एक प्रहरी निरीक्षक सहित ३ जना निलम्बित



जनकपुरधामः रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका एकजना युवकको मृत्यु भएको घटनाका कारण जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक प्रहरी निरिक्षक सहित ३ जना निलम्बनमा परेका छन् ।

गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वडा नं.८ बसविट्टी जिङ्गडिया बस्ने २० वर्षीय निरन्जन रामलाई घाँटी रेटी कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका प्रतिवादी मृतक विजय महरा समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह र प्रहरी हवल्दारद्धय फिरोज मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई घट्नाको सम्बन्धमा प्रहरी निमावली २०७१ को नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिए ।

गरुडास्थित महिला तथा बालबालिका सेबा केन्द्रमा साउन २ र ३ गते महरालाई लगेर ती तीनै जना प्रहरी अधिकारीले निर्मम यातना दिएको भिडियो बाहिरिएको थियो ।

प्रहरीको यातनाबाट चिन्ताजनक अबस्थामा पुगेका महराको नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचारको क्रममा भदौ १२ गते मृत्यु भएपछि दलित समुदाय र स्थानीयबासि दैनिक आन्दोलित हुदैं आएका छन् । निधन हुनुअघि बिजय महराले भिडियो मार्फत आफुलाई सादा पोशाकमा आएका प्रहरीले करेन्ट, पाईप, बाँसको लौरो र बुटले कुटेर यातना दिएको बताएका थिए । राम हत्याकाण्डमा प्रहरीले बिजय महरा सहित ७ जनालाई पक्राउ गरेपनि दोषिलाई उम्काउन निर्दोषलाई फँसाउन लागेको भन्दै दलित अधिकारकर्मी सहितका सामाजिक अभियन्ताहरु आन्दोलित हुँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुरोध वमोजिम प्रहरी निरिक्षक नविन कुमार सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को भदौ १५ गतेको निर्णयानुसार गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ को पत्रले प्रहरी निमावली २०७१ को नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिका लागि निलम्वन गरिएको र प्रहरी हवल्दारद्वय फिरोज मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको च.नं.३२५ भदौ १५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशितः १६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्