आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहीन र कपोलकल्पित समाचार प्रकाशन गरिएको गुप्ताको भनाई



जनकपुरधाम: सुनचाँदी व्यवसायी समेत रहेका जानकी फाइनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्ताले एक स्थानीय पत्रिकाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहीन र कपोलकल्पित समाचार प्रकाशन गरेको आरोप लगाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै गुप्ताले सो स्थानीय पत्रिकाका सम्पादकले खरिद गरेको भनिएको जग्गा र रसिक बिहारी भगवान तेली कुट्टी जग्गाको सिमाना विवादमा बल प्रयोग गरी पर्खाल भत्काइएको सम्बन्धमा आफुले एक सचेत नागरिकको हिसाबले सार्वजनिक र गुठीको जग्गा संरक्षण गर्नुपर्ने मत जाहेर गर्दा आफू विरुद्ध आफ्नो संस्थासँग जोडेर समाचार प्रकाशन गरेको उनको दुःखेसो छ ।

उनले आफुले सार्वजनिक र गुठीको जग्गा संरक्षण हुनुपर्ने माग राखेकोले त्यसकै रिसवी साध्न आफ्नो चरित्र हत्या हुने गरी व्यक्तिगत जीवनसँग सम्बन्धित विषयहरु समेत जोडेर सो पत्रिकाका सम्पादकले तथ्यहीन र कपोलल्पित समाचार प्रकाशन गरेको विज्ञप्ति मार्फत दाबी गरेका छन् ।

आफु विरुद्ध उक्त स्थानीय पत्रिकाले हुण्डी कारोबारी, भारतीय नक्कली नोटको कारोबारी, सुन तस्कर र पत्नीको हत्या गरेको आरोप सहित आफ्नो व्यक्तिगत, पेशागत र नैतिक चरित्र हत्या गरि समाचार प्रकाशन गरेको उनको गुनासो छ । उनले जानकी फाइनान्स कम्पनीको सम्बन्धमा समेत मिटर व्याजी धन्दा गर्ने, कमिशन दिएपछि ऋण प्रववाह गर्ने जस्ता हचुवा र झुठा समाचार लेखेको गुप्ताको गुनासो छ ।

गुप्ताले आफू विरुद्ध लगाइएको आरोप सम्बन्धित सञ्चार माध्यमले नसच्याए कानून बमोजिम उजुरी गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रकाशितः १६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्