मानवीय संवेदना र सम्मानसहित सक्रिय सेना



काठमाडौं : शव अंकमाल गरेर मन हलुंगो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र संस्कारअनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने गर्दछ । कोरोना महामारीले परम्परा र संस्कारलाई नियमित गर्न नदिए पनि नेपाली सेनाले भने सम्भव हुने जति परम्परा र संस्कारअनुसार अन्त्येष्टि गरेर सहानुभूति लिने र समवेदना दिने गरेको छ ।

कोरोना सङ्क्रमणपछि मृत्यु हुनेहरुको दाहसंस्कारको जिम्मा पाएको नेपाली सेनाले परिवारको अनुरोधअनुसार शव व्यवस्थापन गर्दै आएको छ । सेनाले परिवारले भनेजसरी शवको व्यवस्थापन गर्दै आएको छ । यहाँको कालीबहादुर गणले हालसम्म १७ शवको व्यवस्थापन गरिसकेको छ । तीमध्ये १० पुरुष र सात महिला छन् । अठार वर्षीया युवतीदेखि १०८ वर्षीया वृद्धासम्मको परम्पराअनुसार संस्कार गरिएको छ ।

सेनाले गएको असार १३ गते कैलालीका एक पुरुषको शव व्यवस्थापन गरी यस कामको शुरुआत गरेको हो । गणका गणपति विज्ञान खनालका अनुसार गणमा तालिमप्राप्त टोली नै रहेको छ भने १५ जनाको टोली छुट्टै आइसोलेसनमा बस्ने गरेको छ । खनालले भने, “खबर आएपछि तत्काल व्यवस्थापन गरेर हाम्रो टोली शव रहेको ठाउँमा पुग्छ ।”

उनका अनुसार सुरुमा शव निर्मलीकरण गरेर शववाहनमा राखिन्छ । शव वाहन सँगसँगै सेनाको टोली अन्त्येष्टिस्थलमा पुग्‍ने गर्दछ । भरतपुर महानगरपालिका वडा नं १ स्थित बागेश्वरी जंगलमा शव व्यवस्थापन गरिंदै आएको छ । खनालले भने,“परिवारको इच्छाअनुसार शवको अन्त्येष्टि गर्छौँ, हालसम्म परिवारको अनुरोधमा एउटा शव जलाइएको छ भने अन्यलाई खाल्टोमा व्यवस्थापन गरिएको छ ।”

व्यवस्थापनस्थल नजिकै भौतिक दूरी कायम गरेर परिवारले आफ्नो संस्कार र परम्पराअनुसारको धार्मिक विधि पूरा गरिसकेपछि मात्रै शवको व्यवस्थापन हुने गरेको छ । खनालले भने,“ जुन धर्म र संस्कारको शव छ सोही परम्पराअनुसारको विधि पूरा गरेपछि मात्रै हामी अन्त्येष्टि गर्दछौं ।”

महामारीबीच पनि आफ्नो परम्परा पूरा गर्न पाउँदा परिवारमा सान्त्वना मिल्ने गरेको छ । डोजरले ७ देखि १० फिट गहिरो खाल्टो खनेर शव व्यवस्थापन गरिंदै आएको छ । एउटा शव व्यवस्थापनका लागि पाँच जनाको समूह परिचालन गर्ने गरिएको छ । अधिकृत वा पदिकले त्यसको नेतृत्व गर्दछन् । शव व्यवस्थापनपछि फर्किएको टोलीलाई गणको ढोकैमा सेनिटराइज गरेर भित्र प्रवेश गराइन्छ ।

ढोकाको आडैमा रहेको स्‍नान कक्षमा स्‍नान गरेर उनीहरु आसोइलेसन कक्षमा पुग्‍ने गर्दछन् । खनालले भने, “१५ दिनसम्म एउटै समूहले काम गर्दछ । त्यसपछि पिसिआर नेगेटिभ आएमा अर्को समूहलाई परिचालन गरिन्छ ।”

व्यक्तिगत सुरक्षाको पोशाक प्रयोग गरी शव व्यवस्थापनमा टोली पठाउने गरिएको छ । उनीहरुले मास्क, पन्जा, पीपीईलगायत सम्पूर्ण सुरक्षा पोशाक लगाउने गरेका छन् । खनालका अनुसार हालसम्म शव व्यवस्थापनमा खटिएका कुनै पनि सैनिकलाई कोरोना पोजेटिभ देखिंएको छैन । नेपाली सेनाले पाएको यो महत्वपूर्ण जिम्मेवारी उच्च मनोबलका साथ पूरा गरिएको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्