प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या



जनकपुरधामः प्रदेश २ को तथ्याङ्क हेर्दा कोरोना संक्रमण भन्दा पनि आत्महत्याको घटना खतरनाक देखिएको छ ।

कोरोना संक्रमणका कारण प्रदेश नम्बर २ मा अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनको अवधिमा यस प्रदेशमा २ सय ७४ जनाले आत्महत्या गरिसकेका छन् । यस विषम परिस्थितिमा प्रदेशमा भने आत्महत्याको घटना निरन्तर बढ्दै गईरहेको छ ।

गत चैत्र ११ देखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार प्रदेश २ मा यस अवधिमा २ सय ७४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

जिल्लागत तथ्याङ्क हेर्दा सप्तरीमा ३४, सिरहामा ४७, धनुषामा ५१, महोत्तरीमा २०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३१ र पर्सामा २६ जना गरि कुल २ सय ७४ जनाले आत्महत्या गरेको प्रवक्ता सिंहले बताए ।

त्यस्तै यस प्रदेशमा चैत ११ गतेदेखि भदौ १६ गतेसम्ममा ७ सय ९२ वटा घरेलु हिंसाका उजुरीहरु परेका छन् । सप्तरीका ४४, सिरहाका १ सय ७, धनुषाका १ सय ८१, महोत्तरीका ४५, सर्लाहीका ७, रौतहटका १ सय ७, बाराका १ सय ६१ र पर्साका १ सय ३६ जनाले घरेलु हिंसा सम्बन्धी उजुरी दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरीमा १८, सिरहामा २४, धनुषामा १७, महोत्तरीमा १७, सर्लाहीमा १७, रौतहटमा १४, बारामा १५ र पर्सामा १५ गरि १ सय ३७ वटा जबरजस्ती करणीका घटनाहरु घटेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ मा जबरजस्ती करणी उद्योगका २७, बहुबिबाह सम्बन्धी घटनाको २१, बालबिबाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरीहरुको परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्