कर्तव्य निर्वाहमा पछि नपर्न प्रहरी अधिकृतलाई निर्देशन



काठमाडाैं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षकलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक क्षेत्रीले कार्य क्षेत्रमा उच्च मनोबलका साथ उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।

अपराध अनुसन्धान तथा नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राज्यले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले मुलुकमा शान्तिसुरक्षा कायम गर्न अपराधजन्य गतिविधिको नियन्त्रण गर्दै कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापन, फरार अपराधीको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनीकरणलगायत गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

“सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ”, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “हिरासतमा भएका व्यक्तिमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल राख्नु जरुरी छ ।”

अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने बताए । अन्य सुरक्षा निकाय, स्थानीय तह र कानून कार्यान्वयन गर्ने अन्य निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उनले प्रहरी अधिकृतलाई निर्देशन दिए । कानूनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्नसमेत उनले सुझाव दिए । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले धेरै प्रहरी कर्मचारी प्रभावित भएको अवस्थामा सीमित जनशक्ति र साधन स्रोतको उचित परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्