वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन : देवप्रसाद तिमिल्सिना



काठमाडाैं : रौतहट जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना जनतामाझ लोकप्रीय हुनुहुन्छ । नेपाली कांग्रेससम्बद्ध विभिन्न जनवर्गीय संगठनमा रहेर काम गर्नुभएका उहाँलाई रौतहटका जुनसुकै क्षेत्रका कांग्रेसी कार्यकर्ताले मन पराउँछन् । स्थानीय बासिन्दाको काममा आफै अघि सर्ने र सुख दुःखमा सहभागी भइरहने तिमिल्सिनासँग द नेपालटपकी संवाददाता आशा साहले कोरोना संक्रमण, विकास निर्माण र समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणको भयावह अवस्था छ, जनप्रतिनिधिको हैसियतमा तपाईले के गर्दै हुनुहुन्छ ?
– कोरोनाको महामारी देशभरी नै छ । त्यसमा पनि सबैभन्दा धेरै तराई–मधेशमा छ । त्यसमध्ये रौतहटमा पनि कोरोना संक्रमितको संख्या धेरै नै छ । यो महामारीमा हामीले सक्ने सहयोग गरेका छौ । आम जनतालाई सामाजिक दूरी कायम गर्न र समयमा परीक्षण गराउनुपर्छ भने पटक–पटक भन्दै आएका छौ । अहिलेको अवस्था अत्यन्तै नाजुक हुँदै गएको छ । लकडाउन र निषेधाज्ञा दिनप्रति दिन थपिँदै गएको छ । गरिबीको रेखामुनि रहेका जनता भोक–भोकै बस्नुपरेको अवस्था छ । रोगले भन्दा पनि भोकले मानिस मर्छन कि भन्ने अवस्था आइसकेको छ । त्यसले गर्दा यो सरकारले जति गर्नुपर्ने काम गर्न सक्या छैन । यस विषयमा मैले सरकार र नगरपालिकासँग पटक–पटक आग्रह गरेको छु । खान नपाउने गरिब जनतालाई खान पाउनुपर्ने व्यवस्था गर्नुपर्यो । तराईमा खुला आकाश मुनि सुत्ने जनता धेरै छन् । त्यस्ता अवस्थाका जनतालाई राहतको व्यवस्थादेखि लिएर सामाजिक दूरी कसरी कायम गर्ने भन्ने कुरा एउटा सर्वदलीय बनाएर केन्द्रदेखि लैजान आग्रह गरेका हौ । तर, हामीले भनेको सुन्दैनन् र कसैले भनेको सुन्ने सरकार पनि छैन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार त राजा भइहाल्यो । तीन तहका राजासँग जनताले आशा धेरै गरे उपलब्धि केही पाउन सक्या छैन ।

सरकारले सांसदलाई कोरोना नियन्त्रणका लागि समन्वय र अनुगमन गर्न आफ्नो क्षेत्रमा पठाउने निर्णय गरेको छ ? कसरी लिनुभएको छ ?
– अनुगमन गर्न त पठाएका छन् । अनुगमन गर्न म रौतहट क्षेत्र ४ मा गए । त्यो क्षेत्रमा कोरोना परीक्षणका लागि सुरुवातदेखि पीसीआर मेसिन पठाइदिनु पर्यो भने । रौतहटमा स्वाब संकलन गरी वीरगन्ज, हेटौंडा र काठमाडौं पठाउनुपर्ने अवस्था छ । तर, आजको दिनसम्म आइपुग्दा पीसीआर मेसिन जडान गरिएको छैन । १५–२० दिन क्वारेन्टाइनमा राख्दा पनि पीसीआर टेस्ट हुन सकेको छैन । खुला आकाशमा सुतेका जनतालाई राहत दिनुपर्यो भन्ने कुराहरु पटक–पटक भने । अनुगमन गरेर मात्र अर्थ छैन । हामीले रितो हात देखाएर फर्कनुको अर्थ छैन । हामीले दिन सक्ने दिने हो । यसकारण राज्यले लिनुपर्ने दायित्व नलिएको कारणले यो भयावह स्थिति हो । हेरेका छौ बुझेका छौ र सरकारलाई भनिरहेका पनि छौ ।

घरबाट निस्किने अवस्था छैन । दिनभरी काम गरेर बेलुका खानेलाई कुन अवस्था भएको हो । अत्यन्त दर्दनाक स्थिति छ । यसलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई सम्बोधन गर्न आग्रह गरेको छु । त्यही हिसाबमा हामीले आफ्नो परिचालन र सक्ने सहयोगहरु आफ्ना तर्फबाट गरिरहेका छौ ।

बढी संक्रमित भएको जिल्लामध्ये रौतहट पनि एक हो ? किन संक्रमण बढेको होला जस्तो लाग्छ तपाईलाई ?
– अशिक्षा, बेरोजगारी मुख्य कारण हो । अशिक्षा देशभरीमा सबैभन्दा बढी छ । कोरोना संक्रमणबाट जोगिन साबुन पानीले हात धुनुपर्ने हो । तर, घरमा साबुन नै छैन । हामीले पुर्याउन सक्नुपर्यो नि पानी । दिनभरी काम गरेर एक पटक साबुनले हात धुनसक्ने अवस्था छैन । अनि संक्रमण बढ्नुको कारण खान नपाएर भोकभोकै सुत्नुपर्ने बाध्यता । रोगसँग लड्ने युनिटीपावर पनि चाहियो नि ? रोगसँग लड्ने त्यो क्षमता पनि नभएको कारणले, सरसफाइमा बढी ध्यान नदिएको कारणले, सामाजिक दूरी कायम नभएको कारणले गर्दा रौतहटमा संक्रमित दर बढ्दै गएको छ ।

सरकारलाई यस्तो जिल्लाहरुमा ध्यान दिनुपर्छ भनेर भनेको छु । तर, त्यता तिर ध्यान दिने सरकारको नियत नै छैन । जति भने पनि सरकार सुन्ने पक्षमा छैन, जनताको पक्षमा निर्णय गर्ने पक्षमा छैन ।

कोरोना नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले गरेका कामकारबाही कस्तो छ ? प्रभावकारी छ, छैन ?
– केही हदसम्म स्थानीय तहले राम्रै गरेको छ, नगरपालिकाहरुले । अहिले जोखिममा रहेका स्वास्थ्यकर्मी, प्रहरी, एम्बुलेन्स चालक र सञ्चारकर्मीहरुको बीमा गरौ, राहत वितरण गरौ । तर, कुनै ठाउँमा दिइयो कुनै ठाउँमा दिइएन । यद्यपि स्वास्थ्यकर्मी, प्रहरी, एम्बुलेन्स चालक सञ्चारकर्मीहरुलाई जति सहयोग गर्नुपर्ने हो, त्यति भएको छैन । गरिब, विपन्न परिवारलाई राहत दिने कुरामा । धेरै ठाउँमा एउटा तन्नाको बिल आठ हजार, सिरानीको खोलको तीन हजार बिल आउँछ योभन्दा बढी लाजमर्दो कुरा के हुन्छ । जनताको करको पैसा हो । उहाँहरुलाई विपत्ति परेको बेला जनतालाई सही ठाउँमा सदुपयोग हुनुपर्ने हो तर त्यसो भएन । स्थानीय तहबाट भने सहयोग जनताले पाएका छन् । धेरै नगरपालिकाले राम्रो काम पनि गरेको छ । कुनै–कुनै नगरपालिकाले नगरेको पनि होला ।

जनताका प्रतिनिधिले जनता भनेको भगवान हो उहाँहरुले भोट दिएर हामी मेयर, उपमेयर, प्रदेशको सांसद, मन्त्री, मुख्यमन्त्री, केन्द्रका सांसद, प्रधानमन्त्री भयौ । उहाँहरुले यी सबै कुरा बुझ्नुपर्ने अवस्था छ । यो बुझेर सबैले काम गरिदिने, जनताप्रति उत्तरदायी भयौ भने धेरै कुराको निकास निस्कन सक्छ ।

अब औषधि ल्याउँदा कमिसन खायो भन्ने समाचार सुनिन्छ योभन्दा लाजमर्दाे कुरा के हुन्छ । एउटा मानवले अर्को मानवलाई बचाउने बेला नेताहरुले पैसा दुरुपयोग भयो भन्दा लाज लाग्ने अवस्था छ । यो महामारीको बेला पक्ष विपक्ष सबै एकजुट भएर जानुपर्छ भनेर हामी लागिराखेका छौ । उहाँहरुलाई आग्रह गरिरहेका छौ । तर, उहाँहरु सुन्नहुन्न । आफ्नै तरिकाले आफै ढफलि बजाइरहनुभएको छ । उहाँको पार्टी भित्रको आन्तरिक विवादमा लागिरहनुभएको जनताप्रति उत्तरदायी भएको देखिएको छैन ।

महाधिवेशनको संघारमा उभिएको नेपाली काँग्रेसभित्र चर्काे विवाद उत्पन्न भएको छ ? कसरी लिनुभएको छ ?
– जहाँ जबरजस्ती गर्न खोजिन्छ त्यहाँ विवाद हुन्छ । कांग्रेसले विधिको शासन पालना गर्यो भने कुनै विवाद हुँदैन । जब विधिको शासन पालना हुँदैन, विधान विपरित जान्छन अनि विवाद हुने स्वभाविक कुरा हो । ठूलो माछाले सानो माछा खाने नियमको अन्त्य हुनुपर्यो । राणासँग लड्यो, राजासँग लड्यो र जित्यो पनि । त्यसैले विधिको शासन पालना गर्ने हो भने कांग्रेसमा केही विवाद छैन । विधिको शासन नभएको कारणले विवाद भएको हो । विधि प्रक्रिया ट्रयाकमा आउनेबित्तिकै सबै विवाद समाधान हुन्छ ।

त्यसो भए विधिको शासन कांग्रेसमा लागू हुन्छ त ?
– कांग्रेसका नेताहरुले जिम्मेवारी बुझ्नु पर्यो । पदमा गयो अनि विधिको शासन नमान्नाले विवाद शुरु हुन्छ । जस्तै म अहिले कुनै पदमा छु र मैले विधिको शासन मानेर जनताप्रति उत्तरदायी भए भने मेरो विवाद हुँदैन । तर, मैले पदको दुरुपयोग गर्दै जनता केही होइन, पार्टी भनेको केही होइन, सर्वेसर्वा मै हो भन्ने हो भने त्यस्तो कहाँ हुन्छ ? यसरी चल्न सकिदैन् । त्यसकारण विधिको शासन पार्टीमा हुनुपर्छ । विधानअनुसार हिँड्नुपर्छ । त्यसपछि पार्टीमा विवाद आउँदैन, विवाद अन्त्य हुन्छ । सरकारले पनि विधिको शासन पालना गरेर जनताप्रति उत्तरदायी भएर काम गर्यो भने गुनासो धेरै आउँदैन ।

केन्द्रदेखि तलसम्म गुटगत राजनीति काँग्रेसमा हावी भएको छ ? यसले काँग्रेसलाई कहाँ लैजान्छ ?
– विधान विपरितको गुटको काम लाग्दैन । विधानसम्मत कुनै गुटमा लाग्नु र त्यसलाई समर्थन गर्नु अलग कुरा हो । पार्टीनै बिगार्ने गरी गुटमा लाग्नु, विधान विपरित लाग्नु, विधानलाई कुल्चिएर हिँड्नु त्यो गुट काम लाग्दैन । अरु सैद्धान्तिक गुट कसैलाई मन पर्छ कसैलाई मन पर्दैन त्यो आफ्नो ठाउँमा छ । तर, विधानसम्मत गर्यो भने गुटको लागि कुनै अप्ठ्यारो पर्दैन कांग्रेसको लागि । कांग्रेसमा हिजो पनि गुट थियो आज पनि गुट छ, पर्सि पनि गुट रहला त्यो आफ्नो ठाउँमा छ । तर, मुख्य एउटै शब्द के छ भने–विधिको शासन पालना हुनुपर्यो ।

महाधिवेशनमा तपाई पनि कुनै पदको आकांक्षी हुनुहुन्छ ?
– म कुनै पदको आकांक्षी छैन । यस्तो महामारीको समय छ । मैले जनता कसरी बाँच्छन् । मानव भएर मानवलाई कसरी सहयोग गर्ने, कसरी उनीहरुलाई यो महामारीबाट बचाउन सकिन्छ भन्ने मेरो चाहना छ । मलाई कुनै पद लिएर केही गरौला भन्नुभन्दा पनि अहिले जनता कसरी बाँच्छन् उहाँहरुलाई कसरी राहत दिन सकिन्छ र कसरी पार्टी बच्छ भन्ने विषयमा केन्द्रित छु । नेकपा सरकारको अवस्थामा जनताले दुःख पाएका छन् । कृषिमा दोब्बर लगानी गर्नुपर्ने बेला छ । मल नपाएर जनता रोइरहेका छन् । पैसा तिरेर मल किन्न पाइरहेका छैन । तपाई तिर जाँदा भयावह स्थिति छ । सीमापारीबाट ल्यायो, पुलिस प्रशासनले रोक्छ । यता सरकारले मलको व्यवस्था गर्न सक्या छैन । यस्तो दुःखमा जनता परिरहेको अवस्था छ त्यसले गर्दा अहिलेको अवस्थामा पदभन्दा पनि मानवलाई कसरी सेवा गर्न सकिन्छ भन्ने सोचमा म छु त्यसैले कुनै पदको आकांक्षा छैन ।

यो कोरोना महामारीको बेला तोकिएकै समयमा कांग्रेसको महाधिवेशन सम्भव होला ?
– एउटा मानवले अर्को मानवलाई छुन नपाउने, सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ । सदस्यता वितरण गर्नुपर्ने छ, विवादहरु मिलाउनुपर्ने कुराहरु छ यसले गर्दा महाधिवेशनको समय तलमाथि हुन सक्छ । कांग्रेसको विधि प्रक्रियामा जानै पर्यो । यो महामारीको अवस्थामा दुई–चार महिना तलमाथि हुन सक्छ । विधिसम्मत गर्दा कुनै अप्ठ्यारो छैन तर, एउटाले–अर्कालाई पेलेर जाने हो भने अलि गाह्रो स्थिति छ । अप्ठ्यारो छ ।

आफ्नो क्षेत्रमा विकास निर्माणको काम कति भएको छ त ?
– मेरो क्षेत्रमा विकास निर्माणका कामहरु जति मैले सोचेको थिए त्यति काम भएको छैन । केही काम भएको छ । मैले गरेका काम राम्रै भएका छन् । मेरो संसदीय क्षेत्र कोषको रकमलाई स्थानीय जनताको पक्षमा खर्च गरेको छु । आवश्यकताका आधारमा विभिन्न स्थानमा विनियोजन गरेको छु । हामीले भाषणमात्र गर्या होकी काम पनि गर्या छन् भनेर हेर्दिन मैले सबैलाई आग्रह गरेको छु । सबैको सल्लाह सुझावअनुसार आवश्यकताअनुसार मैले प्रतिपक्षमा रहेर पनि काम गरेको छु ।

तपाई संघीय संसदको सदस्य हुनुहुन्छ, वर्तमान सरकारको काम कारबाहीलाई कसरी लिनुभएको छ ?
– वर्तमान सरकारको कामको शैली जुन छ त्यो शैली लोकतान्त्रिक परिपाटिका आधारमा छैन । किन छैन भन्दा यो सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न सकेको छैन । यो महामारीमा पनि केही गर्न सकेन् । किसानलाई एउटा मल दिन नसक्ने सरकारले अरु के दिन सक्छ । हामीलाई किन्नलाई मल दिनुपर्यो नेपाल सरकारले भन्दा मल पाउन सक्या छैन । कहिले आउने मल ? धान पाकेसी मल आएर के गर्ने ? एक बोरा मल आउँछ भारतबाट त्यो पनि प्रहरीले बाटैमा समातिदिन्छ । त्यसमाथि कोरोनाको महामारी छ लिन जान पाएको छैन । त्यसैले यो सरकारसँग के आशा गर्ने ?

कृषि उत्पादन दोब्बर हुनुपर्यो भनेको छ सरकारले । तर, किसानलाई चाहिने सामग्री– बिउको समयमा बिउ पाइँदैन, मलको समयमा मल पाइँदैन ।

तर, सरकारले आफूले काम प्रभावकारी भएको छ भनि दावी गर्दै आएको छ नि ?
– वर्तमान सरकारका मन्त्रीहरुले मसँग राख्नु, टेबुल टक गर्नु । कुन–कुन मन्त्रीले कति काम गर्नुभयो ? सरकारले कुन–कुन कामको दावी गर्यो ? यो कोरोना नियन्त्रणमा कति पैसा खर्च भयो, कति प्रभावकारी भयो ? कहाँ–कहाँ कति काम भयो ? कृषकहरुप्रति अति उत्तरदायी भयो ? यस्तै विषयमा जाऔ न ।

जनता भोकै छन्, खान नपाएर झुण्डिएर मर्न बाध्य छन् । बिरामीले उपचार नपाएर बाटैमा मृत्युवरण गरिरहेका छन् । खै सरकारको ध्यान त्यता तिर । सरकारले दावी गर्ने बितिकै हुन्छ । सरकारको काम नै हो डफली बजाउने । त्यसैले जनताको काम हो मूल्यांकन गर्ने कुरा ।

तर, जनता अत्यन्तै अप्ठ्यारो परिस्थितिमा छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीं, सञ्चारकर्मी, एम्बुलेन्स चालकलाई खै सुरक्षा ? एउटा पीसीआर मेसिन हाम्रा मन्त्रीजीले हेलिकप्टरमा लिएर जानुभयो । तर, त्यो मिसिन १५ दिन राख्दा पनि बनेन र फिर्ता आयो । त्यसको लागि हेलिकप्टर खर्च कति भयो होला । त्यो सरकारले याद गरेको छ ? रित्तो विमान कतारमा नेपाली नागरिक लिन गयो । नागरिकहरुलाई एयरपोर्टमा पनि बोलाइयो । तर, नागरिक नलिइ रित्तो विमान फिर्ता बोलायो । यस्तो अवस्थामा जनताप्रति सरकार कति पनि उत्तरदायी छैन भन्ने कुरा सबैले बुझेका छन् । मैले प्रतिपक्षी सांसदको हैसियतले विरोध गरेको होइन । यसकारण जो सही छ त्यसबारे सबैलले बोल्नुपर्छ, बोलिदिन मेरो आग्रह छ ।

प्रकाशित : भदौ १९, २०७७

प्रतिक्रिया दिनुहोस्