अपाङ्ता भएका दम्पतिको घर निर्माणमा सहयोग



झिमरुक : माण्डवी गाउँपालिका—३ नयाँगाउँका बोल्न सक्ने क्षमता गुमाएका एक दम्पतिको घर निर्माणका लागि सहयोग रकम जुटन थालेको छ ।

जन्मजात रुपमा बोल्न सक्ने क्षमता गुमाएका ४५ वर्षीय एकराज अधिकारी र उनकी ४६ वर्षीया श्रीमती रेसमा अधिकारीको घर निर्माणका लागि विभिन्न व्यक्तिबाट अहिलेसम्म रु।३० हजार एक सय प्राप्त भएको छ । सो कार्यका लागि विभिन्न व्यक्तिले रु। १५ हजार दिने प्रतिवद्धता जनाएकोे सामाजिक अभियान्ता हरि बस्नेतले जानकारी दिए ।

“यहाँका विभिन्न व्यक्तिबाट घर निर्माणका लागि आवश्यक ग्रिल र रङ्ग (पेन्ट) लगायत सामग्री उपलब्ध गराउने प्रतिवद्धता आएको छ”, उनले भने, “अबको केही दिनमा अधिकारी दम्पतिको घर निर्माणको काम शुरु गर्छौं ।”

आर्थिक रुपमा विपन्न अधिकारी दम्पतिका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षीय आकाश अधिकारी कक्षा ९, माइलो छोरा १२ वर्षीय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षीया करिष्मा अधिकारी कक्षा २ मा पढ्छन् । छोरीछोरीले राम्रो अध्ययन गरे पनि बाबुआमा बोल्न नसक्ने भएपछि परिवारमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाइले आफ्नो घरसंगै जोडिएको दुई कोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको दैनिकी ज्याला मजदूरीको भरमा चल्दै आएको छ

प्रतिक्रिया दिनुहोस्