चिकित्सकले गलत सुई लगाएका कारण डेढ महिने शिशुको मृत्यु



जनकपुरधामः चिकित्सकले गलत सुई लगाएका कारण जनकपुरको एक अस्पतालमा एक अवोध शिशुको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ स्थित जनकपुर श्री राम हस्पिटल प्रा.लि.मा चिकित्सकले गलत सुई लगाएका कारण शिशुको मृत्यु भएको परिवारजनको आरोप छ ।

धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर–७ तारापट्टीका उस्मान नदाफ आफ्नो डेढ महिने छोरोको उपचारका लागि त्यहाँ पुग्दा चिकित्सकहरुको लापरवाहीका कारण उसको मृत्यु भएको आरोप लगाएका छन् ।

नर्मल छोरालाई अस्पताल लग्दा गुमाउनुपर्यो

उस्मान दम्पतीले चार छोरीको प्रतिक्षा पछि गत साउन ९ गते एक छोरा पाएका थिए । तर चिकित्सकको लापरवाहीले त्यो छोरालाई पनि गुमाउनुपर्यो । उस्मानले भने,‘छोरा पाउनका लागि ५ लाख रुपैयाँ खर्च गरेको थिएँ तर, त्यो सब खेर गयो ।’

दुई तीनदेखि डेढ महिने शिशु उमर फारुक दिसा पिसाब गर्न छोडेको थियो । फारुकले दिसा पिसाब गर्न छोडेपछि हत्तपत्त उपचार गराउनका लागि बिहीबर उस्मान दम्पती श्री राम हस्पिटलमा पुगेका थिए ।

शिशुको आमा जयमन खातुनले भनिन्,‘छोरालाई उपचारका लागि पुगे लगत्तै दिसा पनि गर्यो, पिसाब पनि गर्यो, तैपनि अस्पतालले थप उपचार गर्नुपर्ने भन्दै भर्ना गर्न भन्यो । डाक्टरले चेक गरेपछि दुई वटा सुई दियो, स्लाइन पानी पनि चढायो, त्यस लगत्तै बचचालाई खोकी सुरु भयो । खोकी हुन थालेपछि चिकित्सकले फेरि सुई दियो र त्यसपछि मेरो छोराको मृत्यु भयो, चिकित्सकले नै मेरो छोरालाई मारेको हो ।’

यता अस्पताल प्रशासनका अमित कुमारले आमाको लापरवाहीले उनको छोराको मृत्यु भएको दावी गरेका छन् । उनले भने,‘परिवारजनले शिशुलाई उपचारका लागि अस्पताल भर्ना गराएलगत्तै चिकित्सकहरुले नोजल ड्रप दियो, प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी शिशुलाई दिनका लागि भनेका थिए । शिशुको अवस्थामा सुधार नआएपछि शिशुको आमाले नोजल ड्रप दिनका लागि हट कसेका थिए जबकि चिकित्सकले बारम्बार रोके । तैपनि आमाले लुकाएर नोजल ड्रप आफै शिशुलाई दिए ।’ उनले बच्चाको श्वास नलिलाई क्लियर गर्न बाँकी रहेपनि त्यस अगाडी नै आमाले बच्चालाई दूध खुवाएकोले शिशुको मृृत्यु भएको दाबी गरेका छन् ।

यता, शिशुको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनप्रति आक्रोश जनाएका छन् । चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासन र शिशुलाई उपचार गरेका चिकित्सक कामेन्द्र यादव बिरुद्ध प्रहरी समक्ष निवेदन दर्ता गराएका छन् ।
जनकपुर श्री राम हस्पिटल प्रा.लि. र चिकित्सक बिरुद्ध भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका हुन् ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्