रुसी खोपले ‘कोरोनाविरुद्ध काम गर्ने सङ्केत’



एजेन्सी : रुसी वैज्ञानिकहरूले कोरोनाविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् ।

खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ ।

खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो ।

विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ ।

केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ रहेको बीबीसीले जनाएको छ ।

गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए ।

स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ ।

प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको बीबीसीले जनाएको छ ।

सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो । उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो ।

उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “कोभिड–१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक छ।“

जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ’फरक–फरक उमेर र जोखिम समूह’ बाट ४०,००० स्वयम्सेवक सहभागी हुनेछन् ।

तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिँदैछ । ती मध्ये ३४ वटा मानिसहरूमा परीक्षणका क्रममा छन् । जसमध्ये आठवटा तेस्रो चरणको परीक्षणमा छन् ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्