अमेरिका चुनाव : ट्रम्प समर्थक कयौ डुङ्गा डुब्यो



न्यूयोर्क : अमेरिकी राज्य टेक्ससको एउटा तालमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा आयोजित परेडमा सहभागी भएका कैयन् डुङ्गा डुबेका छन्।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा ट्रम्पको चुनाव प्रचारका झण्डा सहितका डुङ्गाहरू एकअर्काको निकै नजिक तैरिरहेका देखिन्छन्। उक्त ट्राभिस काउन्टीका शेरिफको कार्यालयका अनुसार केही डुङ्गामा पानी पसेको थियो, केही रोकिएका थिए भने केही डुबेका थिए।

कारण के हो?
कार्यालयले घटनाको अनुसन्धान थालेको छ तर नियतवश दुर्घटना भएको कुनै प्रमाण नभएको पनि जनाएको छ। घटनामा कोही घाइते भएका छैनन्। अधिकारीहरूका अनुसार धेरै सङ्ख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घटना भएको हुनसक्छ।लेक ट्राभिस टेक्सस राज्यको राजधानी अस्टिनबाट नजिकै छ।

लेक ट्राभिस ट्रम्प बोट परेड नाम दिइएको सो समारोह फेसबुकमार्फत् आयोजना गरिएको थियो। करिब २६ सय मानिसले त्यसमा सहभागिता जनाएको फेसबुकमा उल्लेख गरेका थिए। उक्त घटना स्थानीय समय अनुसार शनिवार दिउँसो भएको थियो। फेसबुकमा उल्लेख भएअनुसार सहभागी डुङ्गाहरूलाई १६ किलोमिटर प्रतिघण्टाको वेगमा चल्न भनिएको थियो।

घटना भएको समयमा सो स्थानमा कुनै आँधी वा हावाहुरी नआएको अस्टिनस्थित राष्ट्रिय मौसम सेवाका अधिकारी पाउल युराले बताएका छन्। नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको तर्फबाट ट्रम्प दोस्रो कार्यकालका निम्ति लड्दैछन् भने विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनले उनको सामना गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्