एक नर्सले बचाइन एलेक्सी नभाल्नीको ज्यान



बर्लिन : रुसका विपक्षी नेता एलेक्सी नभाल्नी जर्मनीको बर्लिनस्थित अस्पतालमा अचेत अवस्थामा कोमामा छन्। जर्मनीले उनलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको बताएको छ।
उनी रुसमा साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला बिरामी परेका थिए र जहाजले ओम्स्कमा आपत्‌कालीन अवतरण गर्नुपरेको थियो। दुई दिनपछि रुसी अधिकारीहरूलाई मनाएर नभाल्नीलाई विमानमा राखेर जर्मनी पुर्‍याइएको थियो।

कसरी विमानका कर्मचारीहरू र स्वास्थ्यकर्मीले साइबेरियाको आकाशमा उनको जीवन बचाउन सङ्घर्ष गरे भन्नेबारे एक रिपोर्ट बीबीसीले तया गरेको छ। त्यो खतरापूर्ण दुई घण्टा लामो यात्राको उसले यसरी वर्णन गरेको छ।

बिहान कसरी बित्यो
त्यो २० अगष्टको दिन थियो। एलेक्सी नभाल्नी एस सेभेन उडान मार्फत् टोम्स्कबाट मस्को जान विमान चढ्दै थिए। उनले बिहानभरि केही पिएका या खाएका थिएनन्( उनकी प्रेस सचिव किरा यार्मिसका अनुसार नभाल्नीले टोम्स्क बोगाशेभो विमानस्थलमा केवल एक कप चिया किनेर पिएका थिए। सोही विमानमा उड्न लागेकी अर्की यात्री इल्या अगीभले नभाल्नीले विमान उड्नु करिब एक घण्टाअघि चिया पिएको देखेकी थिइन्। उनी मुस्काइरहेका थिए र सँगै विमान चढ्न लागेका उनलाई चिन्ने यात्रुहरूसँग ठट्टा गरिरहेका थिए।

उडानको पहिलो आधा घण्टामै नभाल्नीले असजिलो महसुस गर्न थाले। परिचारकरपरिचारिकाहरूले यात्रुहरूलाई पानी बाँड्न थाले, उनले त्यो लिएनन्। त्यसपछि उनी शौचालय गए ।

त्यही समयमा अर्का यात्रुले शौचालय प्रयोग गर्न खोजे तर एलेक्सी नभाल्नीले शौचालयमा झण्डै २० मिनेट लगाए। ढोका बाहिर शौचालय जान चाहनेहरूको लाम लागिसकेको थियो। यसबेलासम्म चारैजना परिचारकहरूले आफ्नो विमानका एक यात्रुलाई सञ्चो नभएको चाल पाइसकेका थिए।
केही मिनेटपछि एकजना परिचारकले कोही यात्रु डाक्टर छन् कि भनेर सोधे। अरू यात्रुले परिस्थिति गम्भीर भएको बुझे।

अरू सहयोगीहरूले पाइलटलाई त्यो सूचना दिए र नभाल्नीलाई प्राथमिक उपचार गर्न थाले। उनकी सहयोगी इल्या पाखोमोभले विमानमा यताउता हिँड्दै चिकित्सकीय सहयोगका लागि अनुरोध गरिन्। अपरिचित एक महिला आफू नर्स हुँ भन्दै अगाडि आइन्। एस सेभेन विमान सेवा कम्पनीका अनुसार पाइलटले आपत्‌कालीन अवतरण गरुन्जेल त्यसपछिको एक घण्टा ती नर्स महिला र उडान कर्मचारीहरू नभाल्नीको होस रहिरहोस् भन्नेमा केन्द्रित रहे।

प्रतिक्रिया दिनुहोस्