मलकाण्डमा प्रचण्डका घरबेटी अधिकारीमाथि कारबाही हुँदै



काठमाडौं : सरकारले मल आपूर्तिको जिम्मा पाएका ठेकेदारहरुलाई कारबाही गर्ने भएको छ । कृषि मन्त्रालयले मल आपूर्तिको जिम्मा पाएका कम्पनिहरुलाई कालो सूचीमा राखेर सञ्चालकहरुलाई पनि कालो सूचीमा राख्ने भएको छ ।

कारबाहीमा पर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासका घरबेटी शारदाप्रसाद अधिकारी र अर्का व्यवसायी होमनाथ कोइराला छन् ।

अधिकारी शैलुङ कनस्ट्रक्सन र कोइराला होबिको मल्टिपल कम्पनिका सञ्चालक हुन् । उनीहरुले मल आपूर्तिको जिम्मा पाएका थिए । तर, समयमै मल आपूर्ति गर्न नसक्दा कृषकहरु मारमा परेका छन् भने सरकारको तीव्र आलोचना भइरहेको छ ।

अधिकारी निर्माण व्यवसायी पनि हुन् । उनले जिम्मा लिएको कतिपय विकास निर्माणको ठेक्का अलपत्र छ ।

अधिकारी र कोइरालामाथि चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुषालले कदम चाल्न लागेका हुन् ।

यसअघि शनिबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएकाहरुमाथि कारबाहीको चेतावनी दिएका थिए । विप्लव नेकपाले हिजो प्रेस विज्ञप्तिमार्फत् शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालको नामै तोकेर कारबाहीको माग गर्दै सरकारले नगरे आफूहरुले गर्ने चेतावनी दिएको थियो ।

देशमा मलको समस्याले गर्दा किसानहरु छट्पटाइरहेको बेला सरकारले भने भ्रष्टाचारी र बदनामहरुलाई नै मल खरिदको ठेक्का दिएको प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

‘किसानहरुको धानबाली असोजबाट पाक्न थाल्छ । भदौ तेस्रो सातासम्म किसाालाई मल अभावल छट्पटाएरहेका छन् । देशैभरिका जिल्लाहरुमा किसानहरु मलका निम्ति हजारौँको संख्यामा बिहानदेखि रातिसम्म पङ्तिवद्ध छन् । देशभरि मलको खोजीमा भौतारिरहेका छन्,’ विज्ञप्तिमा लेखिएको छ–‘तर, आपूर्तिका निम्ति भनेर सरकारले ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवत, शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होबिको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाइ कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौँ पुल र सडकहरु बर्सौँसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकेदारलाई राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् । बोलकबोलअनुसार सम्बन्धित ठेकेदारहरुले मल आपूर्ति नगर्न लाखौँलाख किसानको धाबाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सकार र कृषि मन्त्रालय कारबाहीको त कुरा टाढा भयो, सोधपुछ गर्दैन । कृषिमन्त्री बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाको फलाक्छन् । यो कार्य घोर आपत्तिजन, किसानहरुको बालीनाली माथि खेलबाड हो ।’

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्