कोरोनाले विदेशमा दुई सय नेपालीको मृत्यु



काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट युएइमा मात्र ५ जना नेपालीको मृत्यु भएको छ ।

एक साताभित्र मृत्यु भएका सबै युएईका रहेको एनआरएनएले जनाएको छ । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको हो ।

त्यस्तै यो साता दक्षिण कोरियामा पनि पहिलो पटक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा २८९ जनासहित विश्वभर कोरोनाका कारण ४८९ जनाको ज्यान गएको छ ।

विगत २४ घण्टामा नेपालमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण विदेशमा मात्र २ सय नेपालीको ज्यान गएको हो ।
यस्तै विश्वभर ८० हजार २ सय १६ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमण दर सामान्य रुपमा बढेको छ ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् भने कोरोना भाइरसका कारण १६ देशमा बसोबास गर्ने नेपालीहरुको ज्यान गएको छ ।

विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । नेपालमा मात्र ४६ हजार २ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित छन् । तीमध्ये २८ हजार ९२७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या औसत ६० प्रतिशत रहेको छ ।

कोरोना अवधिमा विदेश ३०० भन्दा बढी नेपालीको मृत्यु भएको (कोभिड–१९) संकट व्यवस्थापन समिति (सिसिएमसी) ले जनाएको छ । सिसिएमसीले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याईएको छ ।

कोरोना अवधीमा सबै भन्दा बढी मलेसियाबाट १०५ नेपालीको शव उद्धार उडानबाट स्वदेश ल्याईएको छ । साउदी अरबबाट ८६, कतारबाट ५८, युएईबाट २६, कुवेतबाट ११ नेपालीको शव नेपाल ल्याईएको छ भने अन्य विभिन्न कारणले नेपाल ल्याउन नसकिएका १७६ मृतक नेपालीको शव परिवारको सहमतीमा सम्बन्धित देशमै दाहसंस्कार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्