सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगविरुद्ध स्थानीयको प्रदर्शन



जनकपुरधामः सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले पर्यावरणमा गम्भीर क्षति पुर्याइरहेको भन्दै उद्योगको गेट अगाडी प्रदर्शन गरिएको छ ।

सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले आज (सोमबार) विहान प्रदर्शन गरेको हो । सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।
समितिका संयोजक चिरञ्जीवी यादवले भने,‘मारुती सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीनदेखि चार बिघासम्म वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती समेत जोखिममा परेका छन् ।’

मारुती सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले समेत घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा गम्भीर क्षति हुँदै आएको बताउँदै यादवले भने,‘मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।’यी कारखानाहरुले यहाँका जनप्रतिनिधिहरुको मिलोमतोमा मनोमानी गर्दै आएको उनको आरोप छ ।

मंगलबार हड्पिएको सार्वजनिक जग्गामा प्रदर्शन गर्ने कार्यक्रम रहेको यादवले जानकारी दिए । सिमेन्ट उद्योग नसच्चिएसम्म आफुहरुको आन्दोलन जारी रहने उनले बताएका छन् ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्