प्रदेश १ मा थपिए अहिलेसम्मकै धेरै संक्रमित



विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ सय ५५ संक्रमित थपिएका छन् ।

यसअघि दैनिक थपिने संक्रमित भन्दा यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि गत शुक्रबार एकै दिन एक सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबार थपिएका संक्रमितमा मोरङका ६७, सुनसरीका ६६, झापाका १५, पाँचथरका छ र उदयपुरका एक जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाले सबैभन्दा बढी प्रभावित प्रदेश राजधानी विराटनगर महानगरपालिकामा सोमबार ५१ जनामा संक्रमण देखिएको छ ।विराटनगरबाहेक मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला, २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इनरुवामा २४ महिला, १८ पुरुष, इटहरीमा पाँच महिला, १० पुरुष, धरानमा चार पुरुष, दुहवीमा दुई पुरुष, रामधुनीमा एक पुरुष, गढीमा एक महिला, एक पुरुष, झापाको कनकाइमा सात महिला, छ पुरुष, बिर्तामोड र बाह्रदशीमा एकरएक पुरुष, पाँचथरको फिदिममा छ पुरुष र उदपुरको बेलकामा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म ४ हजार १ सय ७७ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बूढीगंगाका कोरोना संक्रमित १–१ पुरुषको मृत्यु भएको छ । सोमबारसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । प्रदेश १ मा सोमबार ५२ जना डिस्चार्ज भएका छन् ।

सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन चतराबाट ३१, बी.जेनरल अस्पताल आइसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आइसोलेसनबाट ५, कालिसदन आइसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार ८ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्