स्थानीय र प्रहरीबीचको झडपमा संलग्न रहेको भन्दै ५ जना पक्राउ



जनकपुरधामः धनुषामा स्थानीय र प्रहरीबीचको झडपको घटनामा संलग्न रहेको भन्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले सोमबार दिउँसो दुई महिलासहित पाँचजना गाउँलेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शान्तिपुरका स्थानीय रधियादेवी सदा, रञ्जिता देवी राउत, निराजन राउत, अञ्जय सदा र फुलगेन सदा रहेका छन् । उनीहरुलाई घटनाको विषयमा अनुसन्धान र सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा आइतबार राति साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दीपक राय र प्रहरी जावन रामविश्वास पण्डित घाइते भएका थिए भने प्रहरीको लाठीचार्जबाट एक महिला सहित ३ जना स्थानीय समेत घाइते भएका छन् । इन्सपेक्टर रायको निधारमा ६ वटा टाँका लागेको छ ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । त्यहि गोलियाको विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुबै पक्षबीच झडप भएको थियो ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्