अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको कोहोलपुरमा मृत्यु



अर्घाखाँची : बाँकेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा कोहोलपुरमा अर्घाखाँचीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष रहेका छन् ।

भदौ ११ गते अस्पताल भर्ना भएको ती पुरुषको मंगलबार बिहान ९ः२० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनकोभेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए ।

साउन २७ गते ट्रिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । दायाँ करङ् र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रेफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रेफर गरेको थियो ।

प्रकाशित : भदौ २३, २०७७

प्रतिक्रिया दिनुहोस्