कृषि अनुसन्धान परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूषालका उपस्थितिमा उक्त मन्त्रालयमा आइतबार परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारी र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका विष्णुप्रसाद भट्टराईबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्य गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्य अघि बढाउने रहेको छ ।

त्यस्तै, नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका र भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्याको समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने, चिया तथा कफी विकासका लागि आधारभूत एवं प्रयोगिक दुवै किसिमका अध्ययन र अनुसन्धान गर्ने सो पत्रमा उल्लेख छ ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यकपर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृति संयुक्त प्रकाशन गर्ने रहेको छ ।

जलवायु परिवर्तनका कारण नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउनसक्ने विभिन्न समस्या तथा असरको न्यूनिकरणका लागि अध्ययन अनुसन्धान गर्ने, चिया तथा कफीसम्बन्धी अध्ययन, अनुसन्धान, तालीम, दक्ष जनशक्ती उत्पादन, उच्च शिक्षा, नवप्रवर्तन र क्षमता विकासजस्ता कार्यक्रमलाई बढी उपयोगी तथा पूर्ण प्रयोगात्मक बनाउन सहकार्य गर्ने रहेको छ ।

चिया तथा कफी उत्पादन, उत्पादकत्व वृद्धि र नवप्रवर्तनसम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्र पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, आवश्यक श्रोतको व्यवस्थापन, अनुसन्धानका गतिविधि सञ्चालन, अनुसन्धानका निष्कर्षको प्रसार कार्य आदिको संयुक्त रूपमा खोजी गरी कार्यान्वयन र सहकार्य गर्ने पत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा चिया तथा कफी क्षेत्रमा अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माणसम्बन्धी आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने र नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका कार्यका लागि अन्य मुलुकका चिया तथा कफीमा अनुसन्धानात्मक कार्य गर्ने साझेदार अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको खोजी गरी सहकार्य गर्नेलगायत छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्नुपर्ने काममा चिया तथा कफी कृषकका बगानमै गर्नुपर्ने कार्यका लागि चिया र कफी कृषकसँग समन्वय गर्ने रहेको छ । नेपाल कृषि अनुसन्धान परिषदले गर्नुपर्ने काममा सम्झौतामा उल्लेख गरिएका लक्ष्य र उपलब्धी प्राप्तीका लागि दोश्रो पक्षले आवश्यकतानुसार वैज्ञानिक, प्राविधिक जनशक्ती एवं ज्ञान, सीप उपलब्ध गराउने रहेको छ । नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचनलगायत ऐनअनुसार प्रथम पक्षको विशिष्टिकृत अधिकार क्षेत्रभित्र परेका कार्य गर्नेछ ।

मन्त्री भूषालले नेपालको १९७ वर्षको चियाको इतिहासलाई सम्झेर अझ बढी चिया कपी उत्पादन कार्यमा ध्यान दिन आग्रह गरे । उनले अन्य देशको तुलनामा नेपालमा किन चिया कफीको सोचेअनुरुप उत्पादन बढाउन सकेनौँ भनेर अध्ययन गरी सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्