कुलमान घिसिङको ४ वर्षे कार्यकाल : यी हुन् उपलब्धी मुलक काम



काठमाडौं : देशलाई दैनिक १८ घण्टासम्मको लोडसेडिङबाट मुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । २०७३ भदौ २९ मा नेपाल विद्युयत प्राधिकरणको प्रबन्ध निर्देशक बनेका घिसिङको कार्यकाल आइतबारबाट सकिएको हो ।

४ वर्षे कार्यकालमा घिसिङको सबैभन्दा उपलब्धी काम भनेको देशलाई दैनिक १८ घण्टासम्मको लोडसेडिङबाट मुक्त बनाउनु हो । साथै देश अर्थतन्त्र विस्तारको बाटोमा अघि बढेको छ ।

३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणलाई ५ अर्ब सञ्चित नाफामा लैजानु घिसिङको चार वर्षे कार्यकालको अर्को सफलता हो ।

तत्कालिन निर्देशक कुलमान घिसिङको कार्यकालमा विद्युत उत्पादन ४ सय ५७ मेगावटले बढेर १ हजार २ सय ५८ मेगावट पुगेको छ भने भारतबाट आयातित विद्युतको हिस्सा ३५ प्रतिशतबाट २२ प्रतिशतमा झारेको छ ।

यसैगरी विद्युत पहुँचामा पुग्ने जनसंख्या ६३ प्रतिशतबाट ८६ प्रतिशत पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत १ सय ३१ यूनिट रहेकामा बढेर २ सय ६९ यूनिट पुगेको छ । २५ दशमलव ७ प्रतिशत विद्युत चुहावट घटेर १५ दशमलव २ प्रतिशतमा झरेको छ । यो अवधिमा २ हजार किलोमिटर प्रसारण लाइन थपिएको छ ।

त्यस्तै विभिन्न प्रसारण लाइनबाट करिब ३ सय ५० मेगावाट विद्युत आयात–निर्यात गर्ने क्षमता बढेर १ हजार ५ सय मेगावट पुगेको छ भने ग्रीड सबस्टेसनका क्षमता २ हजार २ सय २३ मेगावाटबाट ४ हजार १ सय ६१ मेगावाटमा पुगेको छ ।

ट्रान्सफर्मरको क्षमता २ हजार ६ सय एमभीएबाट ३ हजार ५ सय एमभीए नाघेको छ । १५ वटा जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको छ । काठमाडौं उपत्यकामा तारलाई भूमिगत गर्ने तथा औद्योगिक ग्राहकलाई स्मार्ट थ्री फेज मिटर र घरायसी ग्राहकलाई स्मार्ट मिटर जडानको काम शुरु भएको छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्