अब कोरोना संक्रमितले आफै उपचार गर्नुपर्ने



काठमाडौंः सरकारले अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले अब सरकारी खर्चमा विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्र समेत पठाइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको हस्ताक्षरमा उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम, व्यवस्थापन महाशाखाका प्रमुख डा रमेश खरेल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीलाई पत्र पठाइएको छ ।

कोरोना संक्रमित विपन्न नागरिक वाहेक अन्य संक्रमितले अब उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । यस्तै अबदेखि लक्षण भएका संक्रमितको मात्र उपचारको व्यवस्था गर्ने कुरा पनि निर्णयमा उल्लेख छ । मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र लागू हुने बताइएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्