बनको अतिक्रमित जग्गा चाँडै फिर्ता हुन्छ : मुख्यमन्त्री राउत



जनकपुरधामः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् ।

सिरहाको गोलबजारमा पछिल्लो साता बनको २ विग्घा ९ कट्ठा जग्गा अतिक्रमण गरिएको सन्दर्भमा आन्दोलनरत समूहलाई आश्वासन दिदैं मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताए ।

विगतमा विभिन्न जालझेल गरेर अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमणमुक्त हुने आश्वासन समेत उनले दिएका छन् । अतिक्रमित जग्गा फिर्ता हुनुपर्ने माग सहित आन्दोलन जारी रहेको अवस्थामा आज (सोमबार) सिरहाको चोहर्वा पुगेका मुख्यमन्त्री राउतले प्रमुख जिल्ला अधिकारी, वन अधिकृत, मालपोतका प्रमुख र सुरक्षा प्रमुखहरुसँग जग्गाको अवस्था फिर्ता प्रक्रिया बारे छलफल गरेका छन् ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिदैं आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तयार रहेको समेत बताए । उनले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिए ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्