प्रहरीको भूमिका शंकास्पद : कार्यालयमै पत्रकार कुटिए, हिरासतमै थुनुवा मरे



धनगढी : अहिले कैलालीमा प्रहरी विवादको तानिएको छ भने चौतर्फी आलोचना भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमै थुनुवाको मृत्यु भएको खबरको सत्यतथ्य प्रहरीले अझै बाहिर ल्याएको छैन ।

अर्कोतिर सोही घटनामा धनगढीस्थित सञ्चार गृहमा सांघातिक आक्रमण तथा पत्रकारमाथि नै कुटपिट भएको ४ दिन बित्दासमेत संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा प्रहरीको भूमिकामाथि प्रश्न उठको हो ।

गत शुक्रवार धनगढी उपमहानगरपालिका-१ का १९ वर्षीय रोशन विक जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षस्थित शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । उनका आफन्तले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै विरोधमा उत्रिएका छन् ।

तर अझैसम्म प्रहरी सत्यतथ्य कुरा बाहिर ल्याउन सकेको छैन । जसको छानबिनको लागि प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । टोली अझैसम्म छानबिन प्रतिवेदन ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही घटनालाई लिएर मृतकका आफन्तसहितका व्यक्तिले गएको शुक्रवार धनगढीस्थित दिनेश सञ्चार गृहमाथि सांघातिक आक्रमण गर्नुका साथै कार्यरत पत्रकारलाई कुटपिट गरेका थिए । दिनेश खबरले प्रहरीलाई उदृत गर्दै विकले आत्महत्या गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । आत्महत्या नभई हत्या हो भन्दै १५–२० जनाको समूहले दिनेश सञ्चार गृहभित्र संघातिक आक्रमण गर्दै कार्यरत पत्रकारलाई कुटपिट गरेका थिए ।

घटना घटेको ४ दिन बित्दासमेत प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुप सम्शेर जबराले संलग्नको खोजी कार्य जारी रहेको बताए तर आरोपीलाई पक्राउ गर्न नसक्दा कैलाली प्रहरी आलोचित बनेको छ ।

यसैबीच कैलालीका पत्रकारले आन्दोलनलाई सशक्त बनाएका छन् । नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा आन्दोलनरत पत्रकारले धनगढीमा प्रदर्शन गर्नुका साथै सोमवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिएका छन् । ब्रोड कास्टिङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय उपमहासचिव गोविन्द रोस्याराले प्रहरीको बाक्लो उपस्थिति भएको धनगढी बजार त्यो पनि आक्रमणकारीले आक्रमण गर्दै गर्दा फेसबूक लाइफ गरे पनि ४ दिन बित्दा समेत पक्राउ गर्न नसक्नु दुःखद रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव .योगेश रावलले सञ्चार गृहभित्रै पत्रकारहरू दिनदहाडै कुटिनु र उनीहरूविरुद्ध किटानी जाहेरी दिँदा समेत प्रहरी प्रशासन निकम्मा बनेको बताए । जनतालाई सुसूचित पार्ने पत्रकारहरू नै पीडित बनेपछि आमजनताले कसरी न्याय पाउने भन्दै महासचिव रावलले आशंका पनि व्यक्त गरे ।

यसैबीच नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष जगत साउँदले प्रशासनले नै आक्रमणकारीलाई संरक्षण त दिएको छैन भन्दै आशंका बढेको बताए । आक्रमणमा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलनलाई सशक्त बनाउँदै जाने अध्यक्ष साउँदले चेतावनी दिए ।

यसैबीच पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकषर्ण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले घटनामा संलग्नलाई कारवाही हुने बताए । उनले सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीका लागि प्रदेश सरकारले पनि पहलकदमी चाल्दै आएको दाबी गरे ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्