प्राविधिक समस्या आउन नदिन नेप्सेलाई अर्थ मन्त्रालयकोे सुझाब



काठमाडौं : अर्थ मन्त्रालयले अनलाईन कारोबार प्रणालीमा आगामी दिनमा समस्या आउन नदिन दिर्घकालिन नीति बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सुझाब दिएको छ ।

सोमवार नेप्सेको अनलाईन कारोबार प्रणालीमा दोहोरिरहेको समस्याका विषयमा अर्थ मन्त्रालयमा भएको छलफलपछि मन्त्रालयले यस्तो सुझाव दिएको हो ।

छलफलमा अर्थ मन्त्रालयको तर्फबाट राजस्व सचिव रामशरण पुडासैनी र सहसचिव झक्क प्रसाद आचार्यको उपस्थिति रहेका थिए । नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष भिष्मराज ढुङगाना र कार्यकारी निर्देशक निरज गिरी उपस्थित थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र उपमहाप्रबन्धक निरञ्जन फुयाल सहभागी थिए ।

छलफलका क्रममा महत्वपूर्ण पाँच ओटा विषयहरु कार्यान्वयनका लागि मन्त्रालयबाट सुझाब प्राप्त भएको धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनले अनलाईन कारोबार प्रणालीमा आगामी दिनमा कुनै पनि समस्या आउन नदिन दिर्घकालिन नीति तयार गर्न मन्त्रालयले नेप्सेलाई सुझाब दिएको बताए ।

बिहीवारसम्म अनलाईन कारोबार प्रणालीमा देखिएका सबै समस्याहरु समाधान गरी आइतवारदेखि कुनै समस्या नआउने गरी कारोबार सञ्चालन गर्नुपर्ने सुझाब मन्त्रालयबाट आएको उनको भनाइ छ । नेप्सेको हार्डवेयरको क्षमता बढाउनुपर्ने, हाल देखिएको समग्र समस्याको पहिचान गरी सिष्टम अडिट गर्नुपर्ने, ब्रोकरहरुले आफ्नै लगानीमा ल्याउन लागेको टिएमएसलाई नेप्सेकै आईटी नीति अनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाब मन्त्रालयबाट प्राप्त भएको बोर्डका अध्यक्ष ढुङ्गानाले बताए ।

‘नेप्सेलाई बरु बिहीवारसम्म कारोबार बन्द गरेर भएपनि समस्या समाधान गर्न निर्देशन दिएका छौं’, उनले भने, ‘नेप्सेले कारोबार सुचारु राखेरै समस्या समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।’

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्