धनुषामा शहिद कामेश्वर-कुशेश्वरको ४८ औं स्मृति सभा मनाइयो



जनकपुरधामः नेपाली काँग्रेसले आज (बिहीबार) धनुषामा शहिद कामेश्वर कुशेश्वरको ४८ औं स्मृति सभा मनाएको छ । नेपाली काँग्रेस शहिदनगर नगर कार्यसमितिले धनुषाको हठ्ठिपुर हरवाडामा शहिद कामेश्वर कुशेश्वरको स्मृति सभा मनाएको हो ।

पञ्चायती शासन बिरुद्धको आन्दोलनमा कामेश्वर कुशेश्वरको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुको स्मरण गरी स्मृति सभा मनाइएको हो । पञ्चायती व्यवस्था उत्कर्षमा रहेको समयमा विद्यार्थी आन्दोलनलाई उर्जा प्रदान गर्ने दुई विद्यार्थी हठ्ठिपुर हरबाडाका कामेश्वर मण्डल र मुरिबाका कुशेश्वर यादवको २०२९ असोज १ गते प्रहरीको गोली लागी निधन भएको थियो ।

धनुषाको शहीदनगर नगरपालिकामा आयोजित स्मृतिसभामा शहीद्वयको योगदानको स्मरण गरिएको हो । विभिन्न आन्दोलन हुँदै नेपाल संघिय लोकतात्रिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा ती शहीदहरुको योगदान अमूल्य रहेको स्मृतिसभामा उपस्थित वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए । उपस्थित व्यक्तिहरुले शहीदद्वयको शालिकमा माल्यार्पण गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनमा कामेश्वर-कुशेश्वरले दिएको योगदान अविश्मरणीय रहेको वक्ताहरुले धारणा राखेका थिए । शहीद कामेश्वर कुशेश्वरको स्मृतिमा यदुकुहामा नेपाली काँग्रेस शहिदनगर नगर कार्यसमितिले आयोजना गरेको स्मृतिसभामा बोल्दै वक्ताहरुले भने,‘उहाँहरुको त्याग र बलिदानलाई कसैले बिर्सन हुँदैन ।’

वहुदलीय व्यवस्था जनताको लागि रहेको बुझरै उहाँहरुले आफ्नो बलिदानी दिएको चर्चा गर्दै उनीहरुले शहिद कामेश्वर-कुशेश्वरको योगदानलाई मुलुकले कहिले बिर्सन नहुने जिकिर गरे । यसैबिच शहिद कामेश्वर कुशेश्वरको ४८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले शहिदनगर नगरपालिका-६ मा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । नेपाली काँग्रेसले हरेक वर्ष १ असोजमा कामेश्वर-कुशेश्वरको स्मृति दिवस मनाउँदै आइरहेको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्