‘मिनी ग्रेटवाल’ मा एक हजार मिटर पदमार्ग निर्माण



तनहुँ : विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।

जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो । गाउँपालिकामा नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न गाउँपालिकाले पदमार्ग पर्खालको काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ र पटक–पटक भएको बन्दाबन्दीले काममा ढिलाइ भएको छ ।

हालसम्म रु ७० लाख बजेट खर्च भएको छ । “पदमार्ग पर्खाल चार किमि लामो हुन्छ, दशैँ पछाडि लगत्तै काम शुरु गर्छौ”, थापाले भने, “बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी समृद्ध गाउँपालिका निर्माणका लागि जुटेका छौं ।” पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग रु पाँच करोड बजेट माग गरिएको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । डाँडामा सवारी साधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यताका कारण निर्माण लागत महङ्गो परेको छ ।

प्रतिक्रिया दिनुहोस्