अलपत्र सडक प्रदेश सरकारले बनाउँदै




वीरगन्ज : पर्साको चैनपुर सिमाको पूर्व टाँसिएको बाराको चैनपुर देखि सदरमुकाम कलैयासँग जोडिने सडक कालोपत्रे हुने भएको छ ।

सडक निर्माण भएपछि हिलोम्याम सडकमा हिड्ने बाध्यता हट्ने छ । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले चैनपुर देखि सदरमुकाम कलैयासँंग जोडिने पक्की सडक निर्माणको लागि शुक्रबार शिलान्यास गरेका हुन् ।

चैनपुरदेखि बुनियाद, प्रष्टोका हुँदै कलैयासम्म करिब ८ किलो मिटर ढलान र कालोपत्र सडक निर्माणको लागि शिलान्यास गरेका हुन् । पहिलो चरणमा परवानीपुर गाउँपालिकाको चैनपुरबाट सडक निर्माणको प्रकृया शुरु गरिएको हो ।

६ मिटर चौडाई र ४ सय ४५ मिटर लम्बाई आरसिसी ढलान सडक निर्माणको लागि श्री चौधरी निर्माण सेवासंग सम्झौता पनि गरिएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर द्धारा सम्पादीत सडकको लागि २ करोड रुपैया विनियोजन समेत गरीसकेको मन्त्री सोनलले बताए । प्रदेशभित्र रहेका प्रारदेशिक सडकहरुको छनौट गरी क्रमश, जिल्लाको सदरमुकाम र पालिकाविच जोडदै ग्रामिणभेगमा हुने कृषिउत्पादनलाई सदरमुकाम पुर्याउन योजना अनुरुप यो सडक निर्माणको प्रकृया शुरु गरिएको उनले बताए ।

सडक निर्माण शुरु भएसंगै स्थानिय उत्साहित भएका छन । सडक निर्माण नुहँदा १५ किलोमिटर घुमाउँदो बाटो प्रयोग गरेर सदरमुकाम कलैया पुगिन्थ्यो । मन्त्री सोनलले भने, सडक निर्माण सम्पन्न भए लगतै ग्रामिण भेगका जनताको लागि कृषि देखि लिएर दैनिक कामकाजको लागि आवतजावत गर्न सहज हुन्छ ।

प्रदेश २ मा ५ सय भन्दा बढी सडक अहिले पनि अलपत्र अवस्थामा रहेको उनले बताए । केन्द्र सरकारले सहयोग नगरेका कारण अलपत्र परेको सडक निर्माण हुन सकेको थिएन, तर अहिले प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयले रकम विनियोजन गरेर अलपत्र परेको ती सडक निर्माणमा लागि परेको दावी समेत उनले गरे ।

प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले मधेसको पूर्वाधार निर्माण गर्न प्रयाप्त रकम छुट्याएकोले विकास निर्माणमा कुनै प्रकारको कमि हुन नदिने बताउँदै प्रदेश सरकारको प्रत्यक्ष अनुभुति जनतालाई प्राप्त हुने दावी समेत उनले गरे ।

शिलान्यास कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामाधार साह, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साह, सडक डिभिजन कार्यालय चपुरका डि दरोगा साह, प्रसौनी गाउँपालिकाका मेयर भोला गुप्ता, परवानीपुर गाउँपालिकाका उपमेयर सावित्रि देवी पटेल, जसपा नेता, सिताराम गुप्ता, मुक्तीराउत कुर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्