प्रदेश २ मा बढ्दो धार्मिक विवाद : हिन्दु–मुस्लिम समुदायबीच विवाद बढेपछि सर्लाहीमा कर्फ्यू



सर्लाही : विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि सर्लाहीको सदरमुकाम मलंगवा बजारमा कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू लगाएको हो ।

मलंगवा–३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि विवाद शुरु भएको थियो ।

डिजे बजाएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए । हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि प्रशासनले कर्फ्यू लगाएको प्रशासकीय अधिकृत प्रमोद यादवले बताए ।

यादवका अनुसार शनिबार बिहान पुनः दुवै समुदायबीच तनाव शुरु भएपछि अप्रिय स्थिति आउन सक्ने भन्दै कर्फ्यू जारी गरिएको हो ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्