‘संघीय सरकारको प्रदेशमा उपस्थिति नै छैन’



सिरहा क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुरेशकुमार मण्डल अहिले प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुनुहुन्छ । लामो समयसम्म विद्यार्थी र युवा राजनीतिमा सक्रिय मण्डल प्रष्ट वक्ताको रुपमा परिचित हुनुहुन्छ । प्रदेशमा पर्यटकको सम्भावना, मन्त्रालयले ल्याएको योजना, संघीय सरकारले गरेका सहयोग र प्रदेशलाई पर्यटकीय स्थलको रुपमा कसरी विकास गर्ने लगायत विभिन्न समसामयिक विषयमा केन्द्रित भइ द नेपालटपकी सम्वाददाता आशा साहले उहाँसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रदेश २ को ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा धार्मिक धरोहर सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले के–के योजना बनाएको छ ?
– पर्यटनअन्तर्गत प्रदेश २ को प्रदेशस्तरीय अथवा प्रदेश गौरवको सय वटा पर्यटकीय स्थलको पहिचान गरेका छौ । जसमा धार्मिक पर्यटक स्थल र पर्यावरण पर्यटक स्थल रहेका छन् । साथै ताल–तलैया, जलासयसहित प्रदेश गौरवको प्रादेशिक महत्वको सय पर्यटकीय स्थलहरु पहिचान गरिसकेका छौ र त्यसकै आधारमा हामीले काम आगाडि बढाएका छौ ।

मिथिला सभ्यता ग्रीक सभ्यताभन्दा पुरानो मानिए पनि ग्रीक सभ्यतालाई विश्वकै सबैभन्दा पुरानो सभ्यताको रुपमा विश्वव्यापी रुपमा प्रचार गरियो । यस्तो सभ्यता, संस्कृति, ऐतिहासिक, सामाजिक र धार्मिक रुपमा अत्यन्त धनी रहेको नेपालको मिथिला क्षेत्रलाई सरकारले सहयोग गरेको पाइँदैन । यसले समग्र राष्ट्रकै समृद्धिमा ठूलो बाधक रहेको देखिन्छ नि ?
– हाम्रो संस्कृति, परम्परा, संस्कार मिथिलासँग जोडिएको छ । यहाँको संस्कृतिसँग यहाँको मिथिलासँग । तर, पनि जीवनमा ग्लोबल चुनौती भनौ वा तापमान बढेको अवस्थामा ग्रीन बढाउन एकदमै जरुरी छ । हामी जुन प्रदेशमा छौ यहाँ चार प्रतिशत मात्रै वन (हरियाली) छ । एउटा राम्रो सभ्य, स्वस्थकर जीवनका लागि करिब ४० प्रतिशत ग्रीनरी चाहिन्छ । भन्नाले यस हिसाबमा हामी धेरै पछाडि छौ । यसकारण हामीले हाम्रो जीवनलाई स्वस्थकर बनाउन यो बाध्यात्मक अवश्यकता हो । मिथिला हाम्रो शान हो, पहिचान हो, प्रतिष्ठा हो र संस्कार हो, यसमा नो डाउट । तर, हाम्रो जीवनलाई स्वस्थकर बनाउन हामीले हाम्रो जीवनलाई एउटा वैज्ञानिक हिसाबले जिउने खालको बनाउनका लागि हरियाली बढाउनु नै पर्ने हुन्छ । त्यसैले हामीले ग्रीनरीमा जोड दिएका छौ । यसको अर्थ यो होइन कि हामीले मिथिला संस्कृति, संस्कार, पहिचान र प्रतिष्ठालाई छोडेका छौ । यस विषयमा पनि हामीले कामहरु बढाएका छौ । जानकी मन्दिरको अहिले सौन्दर्यीकरण भइरहेको छ । उता जलेश्वर नाथको विकासमा पनि कामहरु भइरहेको छ । यसकारण अहिले यी क्षेत्रहरु राम्रो र आकर्षित बनाइरहेका छौ ।

तर, प्रदेश २ को पर्यटकीय स्थल जानकी मन्दिरको जग्गा अतिक्रमण हुने काम भइरहेको छ । यसलाई कसरी लिनुभएको छ ?
– यहाँ कानुन छ । देशमा ऐन कानुन निर्माण भएका छन् । कसैले कसैलाई अतिवादी गरेर पनि हुँदैन । यसकारण जानकी मन्दिर विश्वमै हिन्दूधर्मालम्बीहरुका लागि आस्थाको केन्द्र हो । जानकी मन्दिरको जग्गा कसैले चाहेर पनि अतिक्रमण गर्न सक्दैनन् । कानुनी हिसाबले त्यो हटाइएको अवस्था पनि छ । यसकारण यो समस्या थियो, तर अहिले यो समाधान भइसक्यो ।

संघीय सरकारको पर्यटन रणनीति, २०२० ले पूर्वी तराईको सुनसरी र मध्य तराईको चितवन जिल्लालाई पर्यटन हबको रुपमा विकास गर्ने उल्लेख छ । यद्यपि दुवैमध्ये कुनै एकले मिथिला पर्यटनलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्ने तथा व्यवस्थित गर्न सक्ने सम्भावना देखिदैन नि ?
– पूर्वी तराईको सुनसरी प्रदेश १ मा र मध्य तराईको चितवन प्रदेश ३ मा पर्छ । यस विषयमा हामीले कुरा गर्दा त हुन्छ । तर, हामीले प्रदेश २ को एउटा साँघुरो घेरामा छौ । हामी योभन्दा बाहिर गएर कुरा त गर्न सक्छौ, तर काम गर्न सक्दैनौ । त्यसकारण मलाई लाग्छ मिथिलाको होस् वा प्रदेशको होस् वा मधेशको सवाल होस् हामी आठ जिल्लामा सीमित छौ । यो सरकारको दायरा भनेको आठ जिल्ला हो । हामीले गर्ने भनेको कोशीदेखि नारायणीसम्म हो । त्यसकारण यहि प्रदेशभित्र कोशीदेखि नारायणीसम्म सीमित रहेर पर्यटकीय स्थलहरुको विकास र संरक्षणहरु गर्छौ ।

यहाँ उल्लेख गरिएका ठाउँहरु हाम्रो प्रदेशभन्दा बाहिर छ । परिस्थितिले हामीलाई आठ जिल्लामा साँघुरो गरेको अवस्था छ । तर, पनि हामीले समग्र रुपमा देशकै विषयमा सोच्छौ । यद्यपि बाध्यात्मक अवस्थामा हामी आठ जिल्लामा सीमित भयौ । तर, हाम्रो सोच, चिन्तन र दृष्टिकोण भनेको समग्रमा देशकै निम्ति हो । यसकारण तपाईले भनेको विषय सोच्नका लागि ठीक छ, तर हामी आफ्नो दायरा नाघेर काम गर्न सक्ने अवस्था छैन । अहिले राजनीतिक रुपले नक्साङ्कन भएको छ । प्रादेशिक विभाजनमा प्रदेश छुट्याइएको छ ।

जनकपुरलाई मिथिला पर्यटनको केन्द्रविन्दुको रुपमा स्थापना र सुदृढीकरण गर्नुपर्ने आवश्यकता छ । तर, संघीय सरकारको पर्यटन रणनीति २०२० मा जनकपुर नपर्नुलाई कसरी लिनुभएको छ ?
– जनकपुर मात्र नभएर संघीय सरकारको पर्यटन रणनीति २०२० मा प्रदेश भित्रको कुनै पनि ठाउँलाई लिइएको छैन । हामीले संघीय सरकारसँग धेरै आशा पनि गरेका छैनौ । हाम्रो ठाउँलाई हामी आफैँ बनाउनुपर्ने हो । पर्यटकीय वर्ष चलेको छ । तर, संघीय सरकारको प्रदेशमा उपस्थिति नै छैन । संघीय सरकारले खालि एक जनालाई छनोट गरी नियुक्त गरेर प्रदेशमा पठाइदिएपछि पर्यटकीय गतिविधि बढ्दैन । यहाँको आवश्यकता के छ ? यो ठाउँलाई बुझ्ने व्यक्ति को हो ? यहाँ कसलाई नियुक्ति गर्दा राम्रो होला ? प्रदेशमा काम गर्ने, तर प्रदेशसँग समन्वय नगर्ने त्यस्तो संघीय सरकारको काम छैन । त्यसकारण प्रदेशमा काम गर्नको लागि कसैलाई पठाइदै छ भने प्रदेश सरकारसँग समन्वय गर्नुपर्थ्यो । तर, कुनै पनि छलफल नगरी एक जनालाई नियुक्ति गरेर पठाइयो । समस्या के हो भने यहाँको मानिसले उसलाई स्वीकार गरेन । काम पनि भएन ।

त्यसपछि कोभिड महामारीले पर्यटकीय गतिविधिनै स्थगित भएको अवस्था छ । भ्रमण वर्ष २०२० नै स्थगित छ । यस कारण जुन किसिमको संघीय सरकारको भूमिका हुनुपर्थ्यो प्रदेश २ को लागि त्यो छैन । त्यो शून्य छ । संघीय सरकारद्वारा प्रदेश २ लाई विभेद गर्ने बानी विगतदेखि नै छ ।
नेपाललाई पर्यटकीय रुपले अगाडि लैजानको लागि प्रदेश २ बिना बढ्दैन । काठमाडौं मात्रै नेपाल होइन । नेपाल जनकपुर पनि हो, लुम्बिनी पनि हो, वीरगञ्ज पनि हो । यो ठाउँमा पर्यटक नआइ पर्यटन वर्ष पूरा हुँदैन । यसकारण संघीय सरकार अलि साँघुरो छ । अलि फराकिलो भएर काम गर्नुपर्छ ।

त्यसो भए संघीय सरकारको लागि काठमाडौंमात्र नेपाल हो भनेर बुझ्दा हुन्छ ?
– त्यो उहाँहरुले बुझ्नु भएको छ । हाम्रो लागि त जनकपुर, वीरगञ्ज, लुम्बिनी नेपाल नै हो भन्ने बुझेका छौ । तर, उहाँहरुले खाली पहाडलाई मात्र बुझ्नुभएको छ ।

तपाई पर्यटन मन्त्रालयको राज्यमन्त्री हुनुहुन्छ । प्रदेश २ मा रहेका प्रमुख तथा सांस्कृतिक स्थलहरुको कसरी प्रवद्र्धन गर्दै हुनुहुन्छ ?
– हामीले यो प्रदेशभित्र धार्मिक, सांस्कृतिक, पर्यावरणीय र ताल–तलैया सहित सयवटा पर्यटकीय स्थलको पहिचान गरेका छौ । यस विषयमा अध्ययन भएको छ । त्यसमा हामीले बजेट निकास गरेका छौ । त्यस ठाउँहरुमा अहिले कामहरु अगाडि बढाइएको छ । जनकपुरको जानकी मन्दिरदेखि धनुषाधामको काम अगाडि बढाएका छौ । पाँच वर्षमा लाग्ने बाराको गढीमाईलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने काम भएको छ । यसका लागि बजेट निकासा भएको छ । यी धार्मिक स्थलहरुसहित प्रदेश २ को अन्य धार्मिक स्थलहरुमा काम अगाडि बढाइएको छ ।

तपाईले बजेट निकासा भएको छ भन्नुभयो । त्यसोभए बजेट कति निकासा भएको छ ?
– आवश्यकता र औचित्यको आधारमा बजेट तल–माथि छ । हामीसँग थोरै बजेट छ । हाम्रो देशमा सात वटा प्रदेश छ । जनघनत्वको हिसाबले सबैभन्दा ठूलो प्रदेश २ हो । तर, प्रदेश २ लाई सबैभन्दा कम बजेट दिइएको छ । कर्णाली प्रदेशमा प्रदेश २ भन्दा चार गुणा कम जनसंख्या छ, त्यस प्रदेशमा चार अर्ब बढी बजेट दिइएको छ । त्यसकारण हामीसँग जे छ त्यसमै हामीले समानुपातिक वा अनुपात हिसाबले बजेट छुट्याएका छौ ।

– प्रदेश २ मा धेरै पर्यटकीय स्थल छन्, तर प्रचार प्रसार र संरक्षणको अभावमा पर्यटक आकर्षित हुन सकेका छैन, केही योजना बनाएको छ प्रदेश सरकारले ?
– सञ्चारमाध्यमको जमाना छ । हामीले यसलाई मार्केटिङ पनि भन्न मिल्छ, व्यापारिक भाषामा । पर्यटक पनि एक किसिमको मार्केटिङ हो । पर्यटकलाई हामीले जति मार्केटिङ गर्न सक्यौ त्यति यसले विस्तारको रुप लिन्छ । अहिले डिजिटल युग हो । यो युगमा पोस्टर छापेर हुँदैन । अहिले डिजिटल हो त्यसैले डिजिटल हिसाबले नै अगाडि बढ्नुपर्छ । जनकपुरको सौन्दर्यको बारेमा, जनकपुरको व्यवस्थाको बारेमा हामीले अमेरिका, अस्ट्रेलिया र युरोपलाई कसरी बुझाउने । त्यो हिसाबले अहिले डिजिटल हिसाबले अगाडि बढिरहेका छौ । एप्सहरु निर्माण गर्ने कामहरु भइरहेको छ । वेबसाइट बनेको छ । सय वटा पर्यटकीय स्थलहरुको लिस्ट बनिसकेको छ । तर, कोरोना महामारीले गर्दा सबै काम रोकियो । पर्यटनको अवस्था बुझ्नुभन्दा पहिला कोभिडको अवस्था बुझ्न जरुरी छ । घरबाट बाहिर निस्कनसक्ने अवस्था छैन । त्यसैले कोभिडको अवस्था बुझ्न जरुरी छ । त्यसकारण हामीले धेरै चाहेका छौ, धेरै गर्न खोजेका छौ, तर पनि कोभिडले गर्दा हामीले सोचे अनुसारको काम गर्न सकेका छैनौ ।

त्यसो त पछिल्लो समय प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा धार्मिक विवाद शुरु भएको छ यसलाई कसरी लिनुभएको छ ?
– यो नितान्त व्यक्तिगत कुरा हो । यसलाई धार्मिकभन्दा पनि सांस्कृतिक रुपमा हेर्दा राम्रो हुन्छ । मलाई याद छ गत वर्ष मण्डपमा जहाँ सीता माता र राम भगवानको विवाह भएको थियो त्यो ठाउँमा सांकेतिक हिसाबले बिना दाइजोको विवाह आयोजना गरिएको थियो । यसलाई हामीले सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले हेर्ने हो भने त्यो ठीकै हो । यहाँ भोजभतेर हुँदैन, दाइजो लिनेदिने हुँदैन । यसलाई विकृति हटाउने हिसाबले हेरौ भने राम्रो हुन्छ ।

पार्टी एकीकरणपछि जसपा कसरी अगाडि बढदैछ? मतभिन्नता कायमै छ कि ?
– पार्टी भनेको विचारहरुको संगम हो । धेरै विचार एक ठाउँमा छ । व्यक्तिको विचार छुट्टै हुन्छ । समूहको विचार हुन्छ । जसपामा धेरै पार्टीको मिलन भएको छ । यसो हेर्दा १० वटा पार्टीको एकीकरण भएको छ । यसकारण विचारको बहस हुनु त्यसलाई विवाद भन्न मिल्दैन । यसमा विचार मन्थन जरुरी छ । हामीले पार्टी घोषणा त गर्यौ । तर, यसको प्राविधिक पक्ष हामीले गर्न भ्याएका छैनौ । पार्टीले भर्खरै ५१ कार्यकारिणी सदस्य बनाउन सफल भएको छ । अहिले पार्टी ७०१ सदस्य केन्द्रीय समिति बनाउनेतर्फ लागेको छ । यसका कामहरुले प्रगति पाएको छ । एक–दुई दिनभित्र यसले पनि पूर्णता पाउँछ । केन्द्रीय समिति घोषणा गरेर निर्वाचन आयोगमा बुझाइसकेपछि राजनीतिक समिति बनाउने कुरा छ । यसले पनि पूर्णता पाएपछि प्रदेश तिर केन्द्रित हुनेछौ । त्यसमा प्रादेशिक समितिहरु बनाउनुपर्ने हुन्छ । समितिहरु छन् तर त्यसलाई समायोजनको जरुरी छ । दुई पार्टीको मिलन छ । हरेक ठाउँमा मिलाउनुपर्ने अवस्था छ । प्रदेशमा हुन्छ । प्रदेशले जिल्ला गर्नेछ, जिल्लाले पालिका गर्ने छ, पालिकाले वडा गर्ने छ । यस किसिमको हाम्रो निर्देशिका आइसकेको छ । कामहरु भइरहेको छ ।

प्रदेशमा संसदीय दल र सरकार पुनर्गठनले निकै चर्चा पाएको छ, कहिले हुँदैछ ?
– यो विस्तारै अगाडि बढ्ने छ । अहिले केन्द्रमै काम भइरहेको छ । केन्द्रीय समिति बनिसकेपछि प्रदेश तिर ध्यान जान्छ ।

जसपाभित्र नेतृत्वकै व्यवस्थापनमा भइरहेको सकसले युवा विद्यार्थीमा कस्तो प्रभाव पर्ला ?
– यो पार्टी हो । यहाँ हजार विचार, हजार व्यक्ति छन् । सबै विचारलाई राखेर मन्थन गरेर एउटा नयाँ विचार नयाँ ढंगले पार्टीले लोकतान्त्रिक समाजवादलाई आदर्श मानेको छ । त्यो हिसाबले हामीले सम्मान गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यो हरेक पार्टीमा हरेक घरमा विचारको संघर्ष हुन्छ । त्यसकारण कसैमा नकारात्मक मात्र होइन सकारात्मक पनि हेर्नुपर्छ । हामी पनि उमेरको हिसाबले युवा नै हौ । नेपालको राष्ट्रिय युवा परिषद्ले युवाको परिभाषाअनुसार अहिले पनि म युवा नै छु । त्यसकारण हाम्रो नेतृत्वले कस्तो सालिनताका साथ समायोजनको काम अगाडि बढाइरहेको छ । हामीले उहाँहरुबाट पनि सिक्नुपर्छ । हामीमा सकारात्मक विचार नै आइरहेको छ ।

तपाई प्रदेश सरकारको राज्यमन्त्री, संघीय सरकारसँग समन्वय कसरी भइरहेको छ ? अर्थात् संघीय सरकारको प्रदेश २ प्रतिको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
– सकारात्मक छैन । मुख्य कुरा के हो भने जसले संघीयता ल्यायो, जसले संघीयताको सपना देखायो, जसले संघीयताको एउटा सोच निर्माण गरेको थियो, त्यसको हातमा नेतृत्व गएन । मधेश आन्दोलनले देशमा संघीयता ल्यायो तर संघीयतामा सानो शक्तिले देश सञ्चालन गरेको छ । त्यसकारण उसलाई संघीयता र खास गरी प्रदेश २ सँग जुन किसिमको सम्बन्ध हुनुपर्थ्यो केन्द्र सरकारको सम्बन्ध त्यति राम्रो छैन । उहाँहरुले प्रदेश २ लाई सौतेनि व्यवहार गरेको अवस्था छ । हाम्रो संख्या, आवश्यकता, औचित्य र यहाँको जनघनत्वको हिसाबले अलि बढी माया गर्नुपर्ने थियो । तर, उहाँहरुले माया गर्नुभएन ।

खास गरी अधिकारको सवालमा हामीलाई धेरै नै कटौती गरिएको अवस्था छ । हिजोसम्म दिएका अधिकार पनि यो बीचमा काटिएको छ । प्रदेशमा यही प्रदेशको जनताको हुने, मुख्यमन्त्री यहाँको हुने तर प्रमुख सचिव काठमाडौंँको भएपछि काम बिग्रिन्छ । मन्त्री म हो मन्त्रालय यहाँको हो तर यहाँको मन्त्रालयको सचिव काठमाडौंको हुन्छ । उसलाई यो प्रदेशसँग त्यति सरोकार हुँदैन । त्यसकारण प्रदेशसँग जुन किसिमको सहयोग समन्वय गर्नुपर्थ्यो त्यो हुन सकेको छैन ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
– कोरोना नियन्त्रण गर्न विश्वले नै नसकेको अवस्था छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रहरु घुँडा टेकिसकेको आस्थामा प्रदेश सरकारले आफूले सकेको इमान्दारीपूर्वक लागिरहेको अवस्था छ । चाँरैतिर संत्रान्सको अवस्था छ । यहाँको अवस्था अन्य स्थानको भन्दा धेरै फरक छैन । तर, हामीले सकेको जति गरिरहेका छौ । हाम्रा सहयोगी निकायहरु यसमा सक्रिय छन् ।

प्राकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्