बुटवलमा नवलपरासी र कपिलवस्तुका दुई कोरोना संक्रमितको मृत्यु



बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना नवलपरासी पश्चिमका छन् भने एक जना कपिलवस्तुका छन् ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मृगौलाका दीर्घ रोगी थिए ।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको हो । उनी मधुमेह र मृगौलाका दीर्घ रोगी थिए ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।

यसैगरी चितवनमा पनि एक जना कोरोना संक्रमति ३९ वर्षीय युवकको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत तनहुँको आँबुखैरहनी नगरपालिका– ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्