नेपाल रेल्वेमा २९ पदका लागि ३२ हजारको आवेदन



जनकपुरधाम : नेपाल रेल्वेले आह्वान गरेको विभिन्न २९ पदको १ सय २९ जना कर्मचारीका लागि ३२ हजार जनाले अनलाइन आवेदन भरेका छन् ।

विगत करिव ६ वर्षदेखी बन्द रहेको रेल सेवा पुनः सञ्चालनमा आउने भएपछि नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदका लागि १ सय २९ जना करारमा कर्मचारी माग गरेकोमा ३२ हजारले अनलाइन आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

कम्पनीले गत भदौ २९ गते करारमा कर्मचारी भर्नाका लागि १५ दिने विज्ञापन आह्वान गर्दा असोज १२ गतेसम्ममा ३२ हजार युवायुवतीहरुले अनलाइन फर्म भरेको उनले बताए । कम्पनीले अधिकृत तृतिय स्तर देखि श्रेणी विहिनसम्मको लागि विज्ञापन आह्वान गरेको थि

यो ।महानिर्देशक भट्टराईले कर्मचारी नियुक्तिमा कुनै प्रकारको सोर्स अथवा पैसाको लेनदेन नहुने दावी गरेका छन् । उनले भने,‘यसमा जिएम, मन्त्री, सांसद अथवा कुनै नेताले सोर्स लगाउँदा फटाफट नियुक्त हुन्छ भन्ने विश्वास छ भने कृपया यस्तो भ्रम नराख्नुहोला ।’

सरकारले स्वीकृत गरेको बिधि अनुरुप शैक्षिक योग्यताका आधारमा कम्पनीको आवश्यक संख्या भन्दा ३ गुणाभन्दा बढीको आवेदकको नाम मेरिटका आधारमा प्रकाशित गरिने र तिनीहरुको अन्तरवार्ता लिएपछी उत्कृष्ट १ सय २९ जनाको अन्तिम नामावली प्रकाशित गरिने उनले जानकारी दिए ।

कम्पनीले शाखा अधिकृत, कानून अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता सहायक, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, अमिन, रेल गार्ड लगायत २९ वटा पदको लागि विज्ञापन आह्वान गरेको थियो ।

कम्पनीले यस विज्ञापनबाट १ करोड भन्दा बढी राजस्व समेत संकलन गरेको छ । कम्पनीले अधिकृत स्तरको विज्ञापनको लागि १ हजार, सहायक स्तरको लागि ४ सय र श्रेणीविहिन स्तरको लागि ३ सय दस्तुर तोकेको थियो । औषतमा ४ सयको दरले पनि राजस्व संकलन भएको भए कम्पनीले १ करोड २८ लाख राजश्व संकलन गरेको देखिएको छ ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्