धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नं.१२ की ३० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले दिएको जानकारी अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन् । राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो । भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ ।

तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो । योसंगै ४ महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका १०, अछामका ५, बझाङका ३, बाजुराका ३, बैतडी र डडेल्धुराका १-१ जना संक्रमितको मृत्यु भएको हो ।

त्यसमध्ये ७ जनाले भने आत्महत्या गरेका हुन् । २ जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।

प्रकाशित : ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्