निषेधाज्ञा तोड्दै बुटवलमा प्रदर्शन, सोमबार लुम्बिनी बन्दको आह्वान



बुटवल : निषेधाज्ञा तोड्दै बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन भएको छ । बुटवलबाट दाङ राजधानी सार्न लागेको विरोधमा बुटवलमा प्रदर्शन भएको हो ।

जिल्ला प्रशासन रुपन्देहीले राजधानीको विरोधमा प्रदर्शन हुन थालेपछि शनिबार रातिबाट निषेधाज्ञा लगाएको थियो ।

रुपन्देहीका उद्योगी व्यवसायी संघसंस्थाको आह्वानमा बुटवलको राजमार्ग चौराहबाट विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले प्रदेश राजधानी बुटवाल कायम गर, जनताको मत कदर गर भन्ने नारासहित प्रदर्शन गरिएको हो ।

बुटवलकै ट्राफिकचोकमा गरिएको कोणसभामा बोल्दै उद्योगी व्यवसायीका नेताहरुले लुम्बिनी क्षेत्रका सांसदहरुलाई ‘हुतियारा’ भन्दै कडा आलोचना गरेका छन् ।

कोणसभामा पश्चिम नेपाल वस व्यवसायीका अध्यक्ष दधि खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले खेम हमाल, होटल व्यवसायी समुन्द्र जिसी, रुपन्देही उद्योग संघका कार्यबहाक अध्यक्ष माधव पौडेल, फुलबारी विकास समितिका अध्यक्ष खेम लुईटेल लगायतले बोल्दै बुटवलमा राजधानी बनाउन सशक्त भएर उत्रिन आह्वान गरेका छन् ।

उनीहरुले रुपन्देहीलाई राजधानी बनाउने भन्दै चुनावमा मत लिएर पूर्वाधार नै नभएको स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सरकारको चर्को आलोचना समेत गरेका छन् ।

यसैगरी व्यवसायीले सोमबार लुम्बिनी बन्दको आह्वान गर्दै प्रदेशसभा घेराउ गर्ने र सांसदलाई प्रवेश गर्न नदिने बताएका छन् । आइतबार नेपाली कांग्रेसले रुपन्देही बन्द आह्वान गरेको छ ।

प्रदर्शन शुरु भएपछि बुटवलमा कडा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपालगञ्जबाट २ सय प्रहरीको टोली बुटवल आएको छ ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्