एयर एसियाले गर्‍याे काठमाडाैंलाई बाइबाई



काठमाडाैं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ।

 

मलेसियन एयर कम्पनी एयर एसियाले यात्रु अभाव देखाउँदै असोज २७ गतेबाट उडान बन्द गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने विमानस्थल सेवाशुल्क वापतको १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी उडान बन्द गरेको उनको भनाइ छ।

 

असोज २७ गते  एयर एसियाको अन्तिम उडान रहेको समयमा विमानस्थल कार्यालयले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान रोक लगाएको थियो। जहाज उडान गर्न नपाएपछि एयर एसियाले मलेसियाको दूतावासको सहयोगमा जहाज उडान गरेको क्षेत्रीले जानकारी दिए ।

 

दूतावासले विमानस्थल कार्यालयको बक्यौता रकम एयर एसियासँग असुलीका लागि पहल गरिदिने प्रतिबद्धतापछि मात्रै जहाज उडेको उनको भनाइ छ। दूतावासले रकम असुलीका लागि सहयोग गर्ने लिखित प्रतिबद्धताको पत्र पनि पठाएको छ।

 

प्रतिबद्धताअनुरुप एयर एसियाले रकम चुक्ता नगरे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कार्यालयमा समेत पत्राचार गर्ने क्षेत्री बताउँछन्। एयर एसियालाई रकम जसरी पनि चुक्ता गराएरै छाड्ने उनको दाबी छ।

 

एयर एसियाले विमानस्थल सेवाशुल्क वापतको साँवा र विलम्ब शुल्कसहित ४० करोड रुपैयाँ तिर्नुपर्ने अवस्थामा थियो। जसमा एयर एसियाले साँवा रकम २७ करोड मात्रै तिरेको उनको भनाइ छ। यसैगरी एयर एसियाले पर्यटन शुल्क वापतको नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ रकम तिरेको छैन। 

प्रतिक्रिया दिनुहोस्