जनकपुरधाममा युवाहरुको प्रदर्शन




जनकपुरधाम : बलात्कारका घटनाहरुमा संलग्न अपराधीलाई कडा सजायको माग गर्दै आज (सोमबार) जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् ।

देशमा बलात्कारका घटनाहरु निरन्तर बढ्दै गईरहेको समयमा सरकार मौन रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बलात्कारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरिएको हो ।

युथ एलाइन्स एगेन्स्ट रेप ९वाइएएआर० नामक संस्थाले देशमा बलात्कारको घटना बढ्दै गईरहेपनि प्रहरी प्रशासनले त्यसबिरुद्ध सक्रियता देखाउन नसकेको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, पोल पोलमा सरकार टोल टोलमा बलात्कार, बलात्कारीलाई संरक्षण गर्न पाइदैन, यो सरकारले न देश बनायो, न बेटी बचायो, भएभरको देशको ढुकुटी लुटेर खायो, पीडित परिवारको सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

अभियन्ता गुञ्जा रायको नेतृत्वमा जनकपुरको जनकचोकबाट सुरु भएको बिरोध प्रदर्शन रामचोक, भैरव चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अभियानी रायले बलात्कारको घटनामा जाहेरी लिएर प्रहरी समक्ष पुग्दा दर्ता गर्न प्रहरीले नै आनाकानी गर्नुु चिन्ताको विषय रहेको बताए । उनले प्रहरी प्रशासनले उजुरी दर्ता गर्न नमानेको भन्दै उनीहरुले नै पिडकलाई संरक्षण गरिरहेको आरोप लगाईन् । धनुषाधाम वडा नम्बर ४ सरसाको एक किशोरीलाई गाउँकै दुई व्यक्तिले ४ वर्षदेखि पटक पटक बलात्कार गरेपनि आरोपीलाई प्रहरीले पक्राउ नगरेकोमा उनले दुःख व्यक्त गरिन् ।

कोणसभामा मधेश अधिकार संघर्ष समिति मासका संयोजक सरोज मिश्रले सरकार हरेक क्षेत्रमा असफल साबित भईसकेको अवस्थामा शान्ति सुरक्षा कायम गराउन पनि सरकार असफल भईरहेको आरोप लगाए । उनले बलात्कारीहरुलाई खुलेआम घुम्न दिनु र प्रहरीले पक्राउ नगर्नुले चेलीबेटीमा भय त्रासको वातावरण सिर्जना भएको जिकिर गरे ।

बिरोध प्रदर्शनमा स्थानीय युवाहरु सरोज मिश्रा, आशुतोष झा नविन, गोवीन्द राय चन्दन, दिपक ठाकुर, विजेता झा, रुवी झा, बलराम गुप्ता,पच्चु माझी, कैयुम राईनलगायत अन्य दर्जनौँ युवाहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित :१९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्