वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई रिहा गर्न बुधबार अस्वीकार गरेको छ।

गत चैत ७ गते पक्राउ परेका वलीको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत चैत १३ गते सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्।

रिटमा सुनुवाईपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमति प्रदान भई हिरासतमा रहेको अवस्थामा वन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको छ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्योग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्