युवतीको मृत्युपछि प्रेमीको घरमा शव, काका काकी प्रहरीको नियन्त्रणमा



रौतहट : रौतहटमा बुधवार साँझ शंकास्पद मृत्यु भएको युवतीको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ ।

युवतीको मृत्युपछि प्रहरीले उनका काका र काकीलाई नियन्त्रणमा लिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना टोल बस्ने लाल महम्मद धुनियाकीे १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार साँझ फेला परेको थियो ।

युवतीको स्थानीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको र युवतीको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक पटक विवादसमेत भएको प्रहरीले जनाएको छ । मृतक रोबिना र जुनैदले पारिवारिक अवरोधकाबीच प्रेम सम्बन्धलाई निरन्तरता दिएका थिए ।

परिवारजनका सदस्यहरुले युवतीको शव बोकेर युवकको घरमा पुर्याउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । युवतीको शव युवकको घरमा राखेर फसाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी श्रेष्ठले बताए ।

युवतीका काकाहरु फुल महम्मद, लाल महम्मद, नसरुद्धिन मन्सुरी, काकी सहनाज मन्सुरीले शवलाई बोकेर जुनैद कवारीको घरमा लगेर राखेका थिए । जुनैदको घरका सदस्य बाहिर रहेको बेला युवतीका परिवारजनले शव जुनैद कवारीको भाउजु बस्ने कोठामा राखेको प्रहरीले जनाएको छ ।

मृतक युवतीको घाँटीमा डोरीको जस्तो डोब देखिएपछि हत्या वा आत्महत्या के हो भन्ने खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा मृतक युवतीका काका फुल महम्मद मन्सुरी र काकी सहनाज मन्सुरीलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पताल लगिएको छ ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्