उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न नेविसंघको माग



काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । नेविसंघलाई बदनाम गराउन रचिएको षड्यन्त्र भएको अध्यक्ष ढुङ्गानाको भनाइ छ ।

‘घटनासँग जोडेर घटना हुनुभन्दा दुई दिन अघिदेखि कोरोना सङ्क्रमित भएर आइसोलेसनमा बसेका विद्यार्थीको नामसमेत मुछेर गरिएको झुटो प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यही असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो । नेविसंघका महामन्त्री दीपक भट्टराईले प्राज्ञिक थलोलाई राजनीतिक थलो बनाउन नहुने बताए । रासस

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्