पद दुरुपयोग गरेको आरोप लागेका प्रहरीलाई कारबाही



धनगढी :कैलालीमा पदको दुरुपयोग गर्ने प्रहरी कारबाहीमा परेका छन् ।

धनगढी उप-महानगरपालिका १४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत प्रहरीले लापरबाही गरेको भन्दै सबै जना कारबाहीमा परेका हुन् ।

सई गोपाल कार्कीसहित १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले तनेको छ । उनीहरुले पदको दुरुपयोग गरेको आरोप छ ।

भदौ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेका थिए । सो घटनामा उनीहरुले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो । केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए । चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिएको उनले जानकारी दिए ।

जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने छ । ‘उनीहरु माथि आन्तरिक छानबिन हुन्छ दोषि देखिए थप कारबाही हुन्छ ।’ उनले भने । प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्