प्रहरी र तस्करबीच झडप, २ जना घाइते



सप्तरी : सप्तरीमा प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा दुई जना प्रहरी घाइते भएका छन् ।

हिजो (मंगलबार) राति १० बजे राजविराज नगरपालिका १३ को मुसहर्नियाँममा प्रहरी र तस्करहरूबीच झडप भएको हो ।

भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए । ६०-७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।

आफ्नो सुरक्षाको लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको जनाएको छ । पछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटिएको थियो ।

घाइते हुनेमा प्रहरी जवान दिपेन्द्र साह र प्रहरी हवल्दार कमलदेव यादव छन् । उनीहरू दुबै जनाको टाउकोमा चोट लागेको छ । साहको टाउकोमा ७ वटा टाका लगाइएको छ । तस्करहरूले के सामान ल्याएका थिए भन्ने खुल्न नपाउँदै झडप भएको बताइएको छ ।

‘उताबाट पटाका, सुर्तिजन्य पदार्थ, कपडा लगायत धेरै किसिमका सामान ल्याउछन् । तर हिजो के-के ल्याएका थिए भन्ने रिपोर्ट गर्न नपाउँदै झडप भयो’उनले भने,‘सामान सबै उनीहरूले एक मोटरसाइकल हामीले नियन्त्रणमा लिएका छौं ।’ घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्